९२ लाख रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी – मङ्गला गाउँपालिका–२ र्‍यालेखोर र भाइवाङमा ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन्।

उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए।

‘यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,’ उनले भने, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो।’

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए।

नेवा संस्थाको ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप ३ लाख ७५ हजार २१२ नगद सङ्कलन गरिएको थियो।

त्रिभुवन मङ्गला मावि र र्‍यालखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो।

नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन्।

संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए। खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय