मेलवर्न । ग्लोबल मिट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रयोजनमा आयोजित ग्लोबल मिट कप २०२४को उपाधि म्याग्दी काली युनाइटेड भलिबल क्लबले जितेको छ ।
एलिट गोर्खा स्पोर्ट्स क्लबद्वारा आयोजित उक्त भलिवल प्रतियोगिताको फाइनल खेलमा भएको प्रतिस्पर्धामा खुला तर्फ छन्त्याल परिवार अस्ट्रेलियालाई हराउँदै म्याग्दीकाली क्लबले उपाधि हात पारेको हो ।
यस्तै ३५ बर्ष माथिको प्रतिस्पर्धामा गोर्खा स्पोर्टसलाई हराउँदै छन्त्याल परिवार अस्ट्रेलियाले उपाधि जितेको छ ।
मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा ३० जुनमा भएको प्रतियोगितामा खुल्लातर्फ ११ क्लब र ३५ वर्षमाथि ८ टोलीको सहभागिता रहेको थियो । जसमा सिड्नीबाट ६, मेलबर्नबाट ३ तथा एडिलेड र ब्रिसबेनबाट एक एक क्वबले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा खुलातर्फ म्याग्दी काली युनाइटेड भलिबल क्लबबाट खेलेका नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको थियो । यस्तै म्याग्दी कालीका टेकराज अवस्थी उत्कृष्ट स्पाइकर र ब्लकर, द गोर्खा स्पोर्ट्स क्लबका बिशाल बहादुर बिक उत्कृष्ट सर्भर, छन्त्यालका चिनु छन्त्याल सेटर र गणेश छन्त्याललाई उत्कृष्ट लिवेरोको उपाधि दिइएको छ । त्यस्तै ३५ वर्षमाथिको समूहमा छन्त्याल परिवारका होम भण्डारी सर्वोत्कृष्ट, द गोर्खाका किसन गुरुङ स्पाइकर, द गोर्खाकै प्रेम लामगाँदे सेटर, छन्त्याल परिवारका दीपक अधिकारी उत्कृष्ट ब्लकर र छन्त्याल परिवाकै भरत छन्त्याल उत्कृष्ट लिवेरो घोषित भएका छन् ।
खुल्लातर्फको विजेताले ५ हजार अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टोलीलाई २ हजार २ सय अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
३५ वर्षमाथिको विजेताले १ हजार ५ सय अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुनेले ७ सय अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफीसँगै गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
मुख्य प्रायोजक ग्लोबल मिटका निर्देशक प्रदीप पोखरेलले मेलवर्नमा नेपाली खेलाडीहरुको भलिवलप्रतिको लगावलाई बल पुर्याउनको निम्ती आफूहरुले सहयोग गरेको बताए । ‘मेलवर्नमा भलिवल खेलतर्फ नेपाली समुदायको लगाव बढीरहेको छ’, पोख्रेलले कनेक्ट नेपालीसँग भने, ‘हामीहरुले नेपाली समुदायलाई खेलसँग जोड्न चाहान्छौं, प्रोत्साहन गर्न चाहान्छौं ।’
उनले ग्लोबल मिटले आगामी दिनमा पनि नेपाली समुदायको खेल प्रतिको धारणा परिवर्तन गर्नेगरी सकारात्मक काममा सहयोग गरिरहने प्रतिवद्धता समेत जनाए ।
एलिट गोर्खा स्पोर्ट्स क्लबले पनि यसप्रकारका खेल प्रतियोगिताले अष्ट्रेलियाको नेपाली समुदायलाई एकताबद्ध गर्न मद्धत पुग्ने विश्वास लिएको छ ।