मेलवर्न । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले नेपालको गुल्मी जिल्लाको विभिन्न गाँउपालिका तथा नगरपालिकामा भएका आगलागीबाट क्षति पुगेका घरपरिवारलाई राहात रकम प्रदान गरेको छ । अष्ट्रेलियाको भिक्टोरियामा बसेका गुल्मीबासीहरुद्वारा संकलित २ लाख ६६ हजार ५ सय रुपैया ५१ घरपरिवारलाई वितरण गरिएको हो ।
समाजका सचिव अनिल अर्यालले कनेक्ट नेपालीलाई दिएको जानकारी अनुसार इश्मा गाउँपालिकाका २८ घर परिवार, मदानेका ६ घर, छत्रकोटका ४ घरलाई ५ हजार रुपैयाका दरले पालिका अध्यक्ष उपाध्यक्षको रोहवरमा राहत प्रदान गरिएको छ । यसैगरी मालिका गाँउपालिका र मुसिकोट नगरपालिका भित्र थामडाँडाका ५ घर, आँपचौरका ३, अर्लाङ्कोटका ४ र मुसिकोटका १ घरलाई पनि ५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
जसमा १ हजार रुपैयाको ब्यानर खरिद गरिएको र बाँकी २ लाख ५५ हजार ५ सय रुपैया रकम आगलागी भएका क्षेत्रमै प्रतिनिधिहरु पठाएर राहत हस्तान्तरण गरिएको समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए ।
भिक्टोरियामा रहेका गुल्मीबासीहरुले रकम संकलन गरेर नेपालमा राहत वितरण गरिएको जनाइएको छ । यस्तै समाजले मुसिकोट नगरपालिका ८ निवासी कुलवीर सुनारको ८ वर्षकी छोरी प्रतिक्षा सुनारको औषधि उपचारको निम्तीपनि रकम संकलन गरिरहेको र चाँडै सो संकलित रकम हस्तान्तरण गरिने समेत जनाएको छ ।