मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ) अष्ट्रेलियाले विभिन्न विधामा अवार्डहरु प्रदान गरेको छ ।
आइतवार एक समारोहका साथमा चौथो न्याभ एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गर्दै न्याभले भिक्टोरियाको नेपाली समुदायमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने, व्यक्ति, व्यापारिक तथा नाफारहित संस्थाहरुलाई अवार्डसहित सम्मान गरेको हो।
हरेक दुई बर्षमा आयोजना हुने उक्त अवार्ड कार्यक्रममा भिक्टोरियाका वातावरण तथा उर्जा मन्त्री लियिन डि एम्ब्रोसियो, उत्तरी महानगर क्षेत्रका लागि लिबरल पार्टी सदस्य तथा सांसद इभान मुलहोल्यान्ड , मेरीबेकका काउन्सिलर सु बोल्टन, सांसद ब्रोनविन हाफपेनी, थोमास्टाउनका लागि सदस्य लरेन काथागे, यान येन, मारिया वाम्वाकिनौ, भिएमसी अध्यक्ष भिभियन न्यूगेन, भिक्टोरियाका लागि नेपाली वासणज्य दूत निराजन गौली , सामुदायिक नेताहरु मनोज कुमार र प्रवीण कुमार लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।
उक्त अवसरमा मन्त्री इभान मुल्होल्यान्ड र अतिथिहरूले आफ्नो मन्तव्यमा राज्यको सामाजिक एकता र समृद्धिका लागि न्याभको भूमिका र भूमिकाको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने सबैलाई बधाई दिए। १६ विधामा ३४ विभिन्न व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो ।
लाइफटाइम अचिभमेन्ट अवार्डसहित डा. राजु अधिकारी सम्मानित भएका छन् । यस्तै उत्कृष्ट सामुदायिक नेतृत्व अवार्ड डा. अनुपम पोखरेल र पत्रकार निरु त्रिपाठी, उत्कृष्ट सामुदायिक संस्था दिदी बहिनी समाज भिक्टोरिया, उत्कृष्ट व्यापारिक नेतृत्व, भीम न्यौपाने र डा. सरोजिनी मास्केले प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट युवा नेता शसेन्द्र गौतम केसी र इन्द्र अधिकारी, उत्कृष्ट शिक्षा च्याम्पियन्स पुरस्कार ब्लू लोटस कलेज र चन्डलर आरटीओ, उत्कृष्ट कर्पोरेट सामाजिक उत्तरदायित्व च्याम्पियन्स, म्याक्सीम्याक्स एजुकेशन, एक्सपर्ट एजुकेशन र ग्रेस इन्टरनेशनलले पाएका छन् । यसैगरी उत्कृष्ट स्वयंसेवक अमृता गुरुङ, शोभा पौडेल, मीना मल्ल ठकुरी, कृष्ण महरो र नारायण कटुवाल, त्यस्तै एज्ड केयर क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तको रुपमा रुपा शर्मा, डिसाब्लिटी क्षेत्रमा उत्कृष्ट योगदान अमाजिंग प्यारेन्ट्स, मानसिक स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान सुनिल खड्का, कला र भाषामा उत्कृष्ट सांस्कृतिक योगदान पुरस्कार सुशील चालिसे र सम्झना उप्रेती, खेलकुद र संगीतमा हाई अचिभर्स अवार्ड सागर थापा, उत्कृष्ट न्याभ साझेदार संगठनको रुपमा एनएनसीआईले प्राप्त गरे । यस्तै फ्रेन्ड्स अफ नेपाल अवार्डसहित सांसद ब्रोनविन हाफपेनी, सांसद क्याथलीन म्याथ्यूज वार्ड, भिभियन न्यूगेन, इभान मुलहोल्याण्ड, सनराइज चिल्ड्रेन्स एसोसिएसन इंक अष्ट्रेलियालाई सम्मान गरियो । एकाडमिक एक्सिलेन्स अवार्ड तर्फ भिसिएमा विविध काफ्ले, मास्टर्समा योविन तिमिल्सेना, पिएचडीमा डा. प्रमोद सुवेदीलाई सम्मान गरियो ।
आफ्नो स्वागत मन्तव्यमा अध्यक्ष न्याभ अध्यक्ष प्रेम उप्रेतीले न्याभको भूमिका र जिम्मेवारी, आफ्नो कार्यकालमा भएका उपलब्धि र पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए । उनले संस्थालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै डा. याकिन्द्र तिमिल्सिनाको नवनिर्वाचित टोलीलाई स्वागत गरे । संस्थापक अध्यक्ष डा. राजु अधिकारीले पहिलो लाइफटाइम अचिभमेन्ट अवार्ड पाउँदा भावुक भएको, संस्थाको ३० वर्षको विरासत र भावी पुस्तालाई स्वयंसेवी कार्यमा उत्प्रेरित गर्न यो पुरस्कारको महत्व रहेको बताए ।
एपिँग मेमोरियल हलमा आइतवार सम्पन्न कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीहरुसमेत रहेका थिए भने सन्चालन सचिव आलोक पौडेलले गरेका थिए ।