तेस्रो एक्सपर्ट कपको तयारी अन्तिम चरणमा, प्रथम पुरस्कार ११ हजार डलर

मेलबर्न । रोयल वेस्टर्न्स क्लबले आयोजना गरेको तेस्रो एक्सपर्ट कपको तयारी अन्तिम चरणमा पुगेको छ । एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिता सेप्टेम्बर १४ र १५ मा होपर्स क्रसिंग सकर क्लबको मैदानमा हुन लागेको हो ।

यस वर्षको प्रतियोगितामा न्यू साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, दक्षिण अस्ट्रेलिया, क्विन्सल्याण्ड र भिक्टोरियाबाट २० टोलीहरू सहभागी हुन लागेको क्लबका जनसम्पर्क अधिकृत तथा कार्यक्रम संयोजक उज्ज्वल अधिकारीले जानकारी दिए ।

दुई दिनको यो फुटबल च्याम्पियनसिपले रोमाञ्चक खेल र कडा प्रतिस्पर्धा हुने उनले विश्वास व्यक्त गरे । नेपाली राष्ट्रिय स्तरका खेलाडीहरूको कौशल र स्थानीय खेलाडीहरूको प्रतिभालाई यस प्रतियोगिताले एकसाथ ल्याउनेछ र नयाँ पुस्तालाई प्रेरित गर्ने क्लबका अध्यक्ष रोशन दाहालले बताए ।

३५ वर्ष भन्दा माथिका खेलाडीहरूको लागि छुट्टै श्रेणी बेटर च्वाइस कप २०२४ मा ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। तेस्रो एक्सपर्ट कपको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस मेलबर्न हो भने, बेटर च्वाइस कप २०२४ बेटर च्वाइस मोर्टगेज एण्ड फाइनान्सले प्रायोजन गरेको छ।

एक्सपर्ट कप अन्तर्गत विजेता टोलीले ११ हजार डलर नगद पुरस्कार, ट्रफी, पदक, र प्रमाणपत्रहरू प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४ हजार ५ सय डलर नगद पुरस्कार, ट्रफी, पदक, र प्रमाणपत्रहरू पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी ४५० डलर नगद र ट्रफीले सम्मान गरिने छ । त्यसैगरी शीर्ष गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई २ सय डलर नगद र ट्रफी तथा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई १ सय डलर सहित नगद र ट्रफीले सम्मान गरिनेछ ।

यस्तै ३५ं उमेर श्रेणीको बेटर च्वाइस कप अन्तर्गत विजेताले २ हजार डलर नगद पुरस्कार, ट्रफी, पदक, र प्रमाणपत्रहरू, उपविजेताले १ हजार डलर नगद पुरस्कार, ट्रफी, पदक, र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले २०० डलर नगद र ट्रफी पाउनेछन् ।

यसपटकको प्रतियोगितामा कुल २० हजार ५० डलरको पुरस्कार वितरण गरिने अधिकारीले जानकारी दिए ।

मेलबर्नमा आधारित रोयल वेस्टर्न्स क्लबले नेपाली समुदायमा फुटबलको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। क्लबले नेपाली र अस्ट्रेलियन फुटबल खेलाडीहरूलाई प्लेटफर्म प्रदान गर्दै आएको छ, जसले गर्दा स्थानीय स्तरमा खेलकुदमा रुचि राख्ने युवा खेलाडीहरूलाई प्रेरणा दिने अवसर मिलेको विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय