भिक्टोरिया सरकारले प्रदान गर्ने ‘अन्तराष्ट्रिय विद्यार्थी अवार्ड’को लागि टार्जन बुढाथोकी फाइनलिस्ट

मेलवर्न । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरिया अन्तराष्ट्रिय शिक्षा अवार्ड (भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्ड) २०२४ मा नेपाली टार्जन बुढाथोकी फाइनलिस्टको सूचीमा समावेश भएका छन् । स्टडी मेलवर्नले प्रदान गर्ने ७ विधाका अवार्डहरुमध्ये नेपाली विद्यार्थी टार्जन बुढाथोकी उदाउँदो नेता अर्थात एमर्जिङ लिडर विधामा इन्टरनेशनल एलुम्नाई अवार्डको लागि प्रकाशित अन्तिम नामावलीमा समावेश भएका हुन् ।

स्टडी मेलवर्न हालै यसरी सात विधामा मनोनित भएका फाइनलिस्टहरुको नामावली सार्वजनिक गरेको थियो ।

विगत ६ बर्षदेखि भिक्टोेरियामा बसेर अध्ययन पूरा गरी हाल काम गरिरहेका बुढाथोकी एमर्जिङ लिडर विधामा इन्टरनेशनल एलुम्नाई अवार्डको लागि उत्कृष्ट तीन विद्यार्थीको सूचीमा परेका हुन् ।

भिक्टोरिया सरकारले भिक्टोरियामा अध्ययन पूरा गरेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सम्मान गर्नको निम्ती यसप्रकारका अवार्डहरु प्रदान गर्दै आइरहेका छ । बुढाथोकीको यहाँको समुदाय तथा अन्तराष्ट्रिय विद्यार्थीहरुको निम्ती गरेको कामको आधारमा स्टडी मेलवर्न उक्त अवार्डमा मनोनित गरेको बुढाथोकीले बताए । ”यो अवार्डको तीन जना फाइनलिस्टमा पर्नु पाउँदा गौरव लागेको छ”, बुढाथोकीले कनेक्टनेपाली सँग भने, ‘यसले मलाई अझै एडभोकेसी गर्न प्रेरणा गर्नेछ ।’

आगामी अक्टोबर ३ मा स्टडी मेलवर्नले एक समारोहको वीच उक्त अवार्डको विजेता घोषणा गर्नेछ ।

बुढाथोकीले २०१८ मा अष्ट्रेलिया आएर मेलवर्न इन्स्टिट्युट अफ टेक्नोलोजिमा ब्याचलर अफ इन्जिनियरिङ टेक्नोलोजिको अध्ययन शुरू गरेका थिए ।

”अध्ययन सँगै यहाँ रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पढाईसँगै सीप विकास, जागिरको पहुँचको निम्ती काम गर्न स्टेपिङ जोन नामक गैरनाफामूलक संस्था स्थापना गरी विद्यार्थीहरुलाई सहयोग गर्यौं”, बुढाथोकीले भने, ”मैले यसअघि स्टडी मेलवर्नबाटै विभिन्न विश्वविद्यालयहरुमा अन्तराष्ट्रिय विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै प्यानेलिस्ट र सिटी अफ ह्विटल्सीसँग पनि काम गरेँ ।”

मेलवर्न महानगरपालिकामा स्टुडेन्ट एम्बास्डरको अनुभव समेत बटुलेका उनले विद्यार्थीहरुलाई जागिर, करियर र प्रविधिको विषयमा सचेतना मूलक कामहरु गरेका छन् ।

मेलवर्न नेपाल संस्थामा उपाध्यक्षको रुपमा हाल सामाजिक काममा अग्रसर बुढाथोकीले टिएक्सओमा एसेट रिकभरी म्यानेजरको रुपमा काम गरिरहेका छन् ।

भिक्टारिया सरकारले ८ विधामा विद्यार्थीहरुलाई अवार्ड प्रदान गर्दैछ । जस अन्तर्गत इन्टरनेशनल स्टुडेन्ट अफ द इयर (हायर एजुकेशन), इन्टरनेशनल स्टुडेन्ट ग्राजुएट इन्टरप्रेनर अफ द इयर र एमर्जिङ लिडर इन्टरनेशनल एलुम्नाइ अवार्ड रहेका छन् । बुढाथोकीसगै एमर्जिङ लिडर इन्टरनेशनल एलुम्नाइ अवार्डको लागि भारतका फजिल मोहम्मद र बंगलादेशका हसन मुट्टाकिनवीच प्रतिस्पर्धा हुँदैछ ।

भिक्टोरियाका शैक्षिक प्रादयकबाट विगत ५ बर्ष भित्रमा अध्ययन सकाएका विद्यार्थीहरुले उक्त अवार्डको लागि मनोनयन गर्दा गराउन सक्दछन्। यसरी परेका आवेदनहरुलाई विभिन्न उद्योग तथा सरकार पक्षका व्यक्तिहरुको प्यानलले मूल्यांकन गर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय