अष्ट्रेलियामा नेपाली युवा पौडेलले चुनाव लड्दै, स्वास्थ्य, वातावरण र सशक्तिकरण मुख्य एजेन्डा

मेलवर्न । आगामी अक्टोबरमा हुन लागेको स्थानीय चुनावमा मेलवर्नमा अनन्त पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् । यही ८ अक्टोबरदेखि २५ अक्टोबरसम्म हुन गइरहेको स्थानीय चुनावमा ह्युम काउन्सिलको माउन्ट रिड्ली वार्डमा पौडेलले स्वतन्त्र रुपमा काउन्सिलरको लागि दावी पेश गरेका हुन् ।

भिक्टोरियाको बहुसांस्कृतिक समुदायमा लामो समयदेखि विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा समाजसेवा गरिरहेका पौडेलले यसपटक चुनावी मैदानमा खडा हुँदै अष्ट्रेलियाको राजनीतिमा अग्रसर भएका हुन् ।

माउन्ट रिड्ली काउन्सिलको काउन्सिलर पदमा पौडेलसँगै ७ जनाको उम्मेद्वारी परेको छ । ४ बर्षे अवधि रहने उक्त पदको निम्ती पौडेलले उम्मेद्वारी दिएसँगै यहाँको नेपाली समुदायले सहयोगको हात फैलाएको छ ।

”अष्ट्रेलियामा आएका नेपालीहरुले नेपालकै राजनीतिक दलको हात समाएर यहाँ राजनीति गर्ने चलन छ”, पौडेलले कनेक्ट नेपालीसँग भने, ”अब यतै बस्ने हो भने यतैको राजनीति गर्नुपर्छ ।”

उनले अष्ट्रेलियाको राजनीतिमा नेपालीहरुको प्रतिनिधित्व निकै कम रहेको भन्दै यसतर्फ अबको नेपाली समुदाय अग्रसर हुनुपर्ने भन्दै आफूले पनि त्यसको थालनी गरेको बताए ।

२००९ मा अष्ट्रेलियाका आएका पौडेले पेशाले एज्डकेयर क्षेत्रमा काम गर्छन । हाल नेपाली सामुदायिक केन्द्र (एएनएमसी)को सहकोषाध्यक्षको रुपमा काम गरिरहेका उनी चितवन समाजको संस्थापक अध्यक्ष हुन् । त्यसैगरी क्रयागिबर्न नेपाली समाजको सल्लाहाकारको भूमिका निभाइरहेका पौडेलले न्याभ तथा एनआरएनएमा पनि सल्लाहाकारको भूमिका निभाएका छन् ।

लेवर पार्टी समर्थन गर्ने पौडेलले आफू निर्वाचित भएको खण्डमा हेल्थ, इन्भायरोमेन्ट र एम्पावरमेन्ट अर्थात स्वास्थ्य, वातावरण र सशक्तिकरणलाई मुख्य मुद्धा बनाएर सुधारको काम तथा पहल गर्ने बताए ।

”यहाँ समयमा औषधि नपाउने, चिकित्सकसँग भेट्न महिनौं कुर्न पर्ने अवस्था छ”, उनले भने, ”यो समस्या हटाउन म शुरु देखिनै पहल गर्छु ।” वातावरण संरक्षण, जथाभावी फोहोर फाल्नेहरुलाई कडा कारवाही तथा फाइन, सार्वजनिक सुरक्षा बढाउनको निम्ती प्रहरीको सक्रियता बढाउने, बर्षैपिच्छे बढ्दै गइरहेको रेट्स शुल्क घटाउने विषय आफ्नो मुख्य प्राथमिकता भएको बताए ।

त्यसैगरी चाइल्डकेयर सिस्टमलाई अझै सुधार गर्नुपर्ने उनले भनाई छ । ”महिला सुत्केरी भएपछि चार पाँच बर्षसम्म काम गर्न जान पाउँदैनन्”, उनले भने, ”यसरी चार पाँच बर्षसम्म काम गर्न जान नपाउँदा आफ्नो प्रोडक्टिभिटी घट्छ, त्यसैले राम्रो चाइल्डकेयरको व्यवस्था गर्न सके उनीहरुको प्रोडक्टिभिटी क्षमता यथावत रहन्छ ।”

आफ्ना एजेन्डाहरुसहित माउन्ट रिड्लीका भोटरको घर घरमा जाने प्लान छ पौडेलको । ”८ तारिखमा मतपत्र घरघरमा आइपुग्छ, त्यो भन्दा अघि घर घर मा आफ्नो एजेन्डा सहित जाने हाम्रो प्लान छ”, उनले भने । यस वडामा १५ हजार २ भोटरहरु रहेका छन् भने २५ देखि ३० हजार मानिसहरुको बसोबास रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय