भेरी अस्पतालमा एमडी र एमएस पढाइ हुने

नेपालगन्ज  । पश्चिम नेपालका तीनवटा प्रदेशका हजारौं बिरामीको बर्सेनी उपचार गर्दैआएको भेरी अस्पतालमा एमडी र एमएसको पढाइ हुने भएपछि बिरामीको उपचारमा थप सहयोग पुग्ने बिश्वास गरिएको छ ।

भेरी अस्पतालमा एमडी र एमएस पढाइका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँग सम्झौता भएपछि पश्चिम नेपालका बिरामीको उपचारमा थप सहयोग मिल्ने बिश्वास गरिएको हो ।

भेरी अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहले एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने बिश्वास गरिएको बताउनुभयो ।

बिशेषज्ञ चिकित्सकको जनशक्तिको अभावको समस्या धेरै हदसम्म समाधान हुने बताउनुभयो । यसैगरी भेरी अस्पताल बिकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले न्याम्स र भेरी अस्पतालबिच भएको औपचारिक सम्झौताले भेरीमा एमडी र एमएस पढाइ हुने बाटो खुलेकाले अब अस्पतालको महत्व बढ्ने बताउनुभयो ।

भेरी अस्पताल बिकास समितिका पूर्व सदस्य तथा नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठका अनुसार यो अस्पतालमा वर्षौँअघिदेखि एमडी र एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रयास हुँदै आए पनि सार्थकता पाउन सकेको थिएन । हाल आएर न्याम्ससँग सम्झौता भएसँगै सो प्रयासले सफलता पाएको छ ।

अस्पतालका निवर्तमान प्रमुख डा. प्रकाश थापाले अस्पतालको सेवालाई थप गुणस्तरीय र सहज बनाउन अस्पताल बिकास समिति क्रियाशील रहेको जनाउँदै अस्पतालमा उपचार सेवासँगै शैक्षिक गतिविधि पनि सुरु हुँदा धेरैलाई फाइदा पुग्ने बताउनुभयो ।

अस्पतालमा एमडी र एमएस अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुबेदीबिच गत साता सम्झौता भएको थियो

भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रस्ताव गरिएको अस्पतालले जनाएको छ ।  – गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय