काठमाडौं । भारतका विभिन्न सहरमा बेचिएका र अवैध काममा लगाइएका १२ जना बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ।
भारतमा मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय किन इण्डियाले भारतका विभिन्न सहरबाट उद्धार गरी उनीहरुलाई नेपाल फिर्ता ल्याएको हो।
उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका एक एक जना गरी १२ जनालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत आफन्तको जिम्मा लगाइएको हो।
किन इण्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराइले उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको जानकारी दिए।
भारतमा बेचिएका र अवैध काममा लगाइएका उनीहरुलाई उद्धार गरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली दूतावास दिल्ली, सिद्धार्थनगर नगरपालिका भैरहवा, भारतका विभिन्न संघसंस्था, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा नेपाल ल्याउन सम्भव भएको भट्टराईले बताए।
रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकाहरु केहीलाई जिल्ला प्रशासनमार्फत आफन्तको जिम्मा लगाइएको छ भने आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरुको संरक्षणमा राखिएको छ।
यसरी उद्धार गरेर ल्याएकाहरुमा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन्।
‘नेपालबाट आफन्त र दलालको प्रलोभनमा परेर भारतका विभिन्न सहरमा पुर्याइएको अवस्थामा हामीले बालबालिकाहरुको उद्धार गरेका हौं’, भट्टराईले भने।
उनीहरुलाई आर्केष्टा, यौनजन्य क्रियाकलाप, मगन्ते र बालश्रमीकका रुपमा काममा लगाइएको अवस्थामा उद्धार गरिएको उनले बताए।
किन इण्डियाका निर्देशक नविन जोशीले एकजना बालिका बलात्कृत समेत भएको र उनलाई उद्धार गरी भारतीय प्रहरीमार्फत बलात्कारमा संलग्नलाई पक्राउ गरिएको बताए।
जोशीकाअनुसार पक्राउ परेका ती व्यक्तिलाई भारतको अदालतले दोषी ठहर गरेर २० वर्ष कैद सजाय तोकेको छ भने बालिकालाई ६ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिलाएर नेपाल ल्याइएको हो।
पारिवारिक बेमेल, झुटो प्रेम, गरिबी र रोजगारी पाउने प्रलोभनमा परेर बालबालिकाहरु उमेर नपुग्दै भागेर, आफन्त वा दलालको प्रलोभनमा परेर भारत जाने र त्यहाँ बेचविखनमा पर्ने गरेकोले घरपरिवार, टोलछिमेक तथा स्थानीय तहबाट सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने उनले बताए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नजिकका आफन्त र दलालको प्रलोभनले परेर दिनँहु नेपाली बालबालिकाहरु बेचविखनमा पर्ने गरेको भन्दै यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको बताए।
‘घरपरिवार, टोलछिमेक र स्वयं व्यक्ति समेत सचेत नहुँदासम्म सरकारी क्षेत्र मात्र लागेर बालबालिका बेचविखनको समस्या समाधान हुन सक्दैन, त्यसका लागि सरकारी तथा गैर सरकारी निकाय, परिवार, समाज र बालबालिका समेतलाई सचेत बनाउन जरुरी छ,’ उनले भने।
अर्यालले खुल्ला सिमानाका कारण रुपन्देही बालबालिका तथा चेलबेटी बेचविखनको ‘ट्रान्जिट प्वाईन्ट’ बनिरहेको उल्लेख गर्दै सिमा नाकामा हुने आवतजावतलाई कडाईका साथ चेकजाँच गर्नुपर्ने बताए।
उनले सुरक्षा निकायसँगै बालबालिका तथा चेलिबेटी बेचविखन विरुद्धको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुले पनि आफ्नो निगरानीलाई बढाउनुपर्ने बताए।