रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ? –  वर्षमान

रोल्पा । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने, तर गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए ।

उनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।

राज्यका निकायले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।

‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस् । प्रधानमन्त्रीको पार्टीका सांसद पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’

उनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर