बाँके, कात्तिक १६ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य ढकालको नेतृत्वमा रहेको एमाले बाँकेको देउसी भैलो टोलीलाई शुक्रबार पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले घरमा स्वागत गर्नुभयो ।
सो अवसरमा पूर्वमन्त्री राईले तिहार लगायतका राष्ट्रिय पर्वले एकताको सन्देश दिने भन्दै तिहारको शुभकामना व्यक्त गर्नुभयो । परम्परागत संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि नेकपा (एमाले) बाँकेले देउसी भैलो सुरु गरेको जनाएको छ ।
एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद ढकाल, प्रदेश सभा सदस्य रत्न खत्री, जिल्ला कमिटी अध्यक्ष निरक गुरुङ, प्रदेश कमिटी सदस्य हलिम शाहसहित एमालेका नेता कार्यकर्ताहरूले सामाजिक सद्भावको सन्देश दिँदैँ हिन्दु तथा मुस्लिम अगुवाको घरमा पुगेर तिहारको शुभकामना दिएका छन् ।
एमाले बाँकेका आर्थिक विभाग प्रमुख प्रमोद रिजालले परम्परागत संस्कृतिको जगेर्ना गर्न तथा आन्तरिक स्रोत जुटाउन देउसी भैलो खेलिएको बताउनुभयो । रिजालले भन्नुभयो, ‘यो पर्वले सामाजिक तथा धार्मिक सद्भाव वृद्धिमा समेत महत्त्वपूर्ण योगदान दिने गरेको छ ।’