लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन: राष्ट्रपति पौडेल

काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन  सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११० औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संशोधन गर्दै सो धारणा व्यक्त गर्नुभयो ।

‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, उहाँले भन्नुभयो, “ लोकतन्त्रको यही आलोकलाई अङ्गीकार गर्दै हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन । ”

मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो । “ त्यसको लागि  मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरिब र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ”,राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसङ्गति बेहोर्नुपर्ने थिएन भन्दै तथापि बिपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताउनुभयो । राष्ट्रपति पौडेलले बिपीले गणेशमानका बारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै भन्नुभयो गणेशमानजी साहसी वीर र सङ्घर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो ।

नेपालमा लोकतन्त्र स्थापना र पुन स्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उहाँले बताउनुभयो ।

“दृढ विचार, साहस र त्याग सिंहको समग्र व्यक्तित्वको सार हो, लोकतान्त्रिक सिद्धान्त, मूल्य मान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नुहुने उहाँले यसको मूल्यमा कहिल्यै कुनै सौदाबाजी गर्नुभएन, सिंहको त्यही सद्गुण नै लोकतन्त्र प्रेमीहरूको लागि आज पनि उत्तिकै प्रेरणा पुञ्ज हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन सक्दैन भन्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्त्वपूर्ण योगदान गर्नुहुने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर