प्युठान, कात्तिक ३० गते । जिल्लाको एउटा पक्की पुल सम्झौता भएको आठ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन । स्वर्गद्वारी नगरपालिकाको ३ र ७ नम्वर वडा जोड्न माडी नदीको जलुकेमा बन्दै गरेको पुल आठ वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।
२०७३ बैशाख १६ गते निर्माण कम्पनी मृत संजिवनी-लोहनी ब्रर्दशले ९ करोड ८५ लाख रुपियाँमा पुल निर्माणको लागि सम्झौता गरेको सडक डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख इन्जियिनर विसुनदास लामाले बताउनुभयो । २०७५ कात्तिक १५ भित्र निर्माण सक्ने गरि सम्झौता भएपनि उक्त पुल समयमा नबन्दा अहिलेसम्म पाँच पटक म्याद थप भइसकेको उहाँले बताउनुभयो ।
पछिल्लो समय थप भएको म्याद समेत कात्तिक ८ गते सकिएको कार्यालयले जनाएको छ । अब निर्माण कम्पनीले जरिवना तिरेर दुई सय दिनभित्र काम सक्नुपर्ने प्रमुख इन्जिनियर लामाले जानकारी दिनुभयो । ८० मिटर लामो पुलको आधा भाग पुल मात्र बनेको छ । निर्माण व्यवसायीले कोभिड, आर्थिक अभाव लगायतका कारण देखाउँदै समयमै काम नगरेको स्थानीयको आरोप छ ।
“वर्षात सुरु हुन लाग्दा काम गरेजस्तो गर्ने र अलपत्र पार्ने गरिएको छ,” स्थानीय शरद विष्टले भन्नुभयो,“निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्तीले विकासमा समेत बाधा पुगेको छ ।” उहाँले उक्त पुल नबन्दा भिंगृ क्षेत्रको विकासमा बाधा पुगेको बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि आनन्द लोहनीले कम्पनीले अवको चार महिना भित्र काम सक्ने प्रतिवद्धता जनाउनुभएको छ । जिल्ला स्तरीय सर्वदलिय तथा सर्वपक्षीय बैठकमा लोहनीले मङ्सीर २ गतेदेखि काम शुरु गर्ने गरि लागेको बताउनुभयो ।