सहकारी ठगी गर्ने सबैलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

पोखरा, मङ्सिर १५ गते । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी ठगीमा जोसुकै भए पनि कारबाही गरेर छाड्ने बताउनुभएको छ । शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले भन्नुभयो, ‘ठगी गर्ने जुनसुकै दलका नेता वा कार्यकर्ता जोसुकै हुन्, उनीहरूलाई नियमअनुसार कारबाही गर्नुपर्छ । आमजनतालाई जे नियम हुन्छ, त्यही बराबर अलाई पनि हुन्छ । सबैले रुल अफ ल पालना गर्नुपर्छ ।’ पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेलाई डेढ महिनादेखि कास्की प्रहरी हिरासतमा राखिएकोमा रास्वपाद्वारा राजनीतिक पूर्वाग्रह भन्दै आएको प्रसङ्गमा बोल्दै उहाँले भन्नुभयो, ‘यसमा केको पूर्वाग्रह ? अरूलाई नगरी एउटा पार्टीको एउटा नेतालाई मात्र गरेको भए पो पूर्वाग्रह हुने हो ।’

सामाजिक सञ्जालको पछि लागेर वकालत गर्नु उचित नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले विभिन्न सहकारीको रकम हिनामिना भएको अवस्थामा ६ सय जनाभन्दा बढीलाई केस चलाएर अनुसन्धानमा राखिएको छ । सहकारी पीडितको बचत रकम फिर्ता कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उहाँले ठगी गरेको तथा रकम हिनामिना गरेकाहरूको सम्पत्ति हेर्ने र कसरी सरकारले उक्त रकम फिर्ता गर्न सकिन्छ भन्नेमा प्रस्ट हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘भूमि तथा सहकारी मन्त्रालयबाट प्रोसेसिङ गरेर केहीको रकम फिर्ता गरिसकेको छ भने अरू काम हुँदैछ ।’

झन्डै २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर आन्तरिक उडानमै सीमित रहेको भन्ने प्रश्नमा उहाँले पोखराबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । राष्ट्रका लागि प्रोजेक्टहरू छान्दा अर्थतन्त्र र विकासलाई आधार मानेर नेपाललाई उपयुक्त हुने मात्र छान्नुपर्नेमा जोड दिँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा नेपालका विभिन्न प्रोजेक्ट अब ऋणमा नभई अनुदानमा लिन सकिने गरी सम्झौता हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर