रास्वपा सभापति लामिछानेलाई हिरासतमा गरिएको अमानवीय व्यवहार प्रति अस्ट्रेलिया विभागद्धारा आपत्ति
सिड्नी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा गरिएको अमानवीय व्यवहार र रातारात चितवनबाट पोखरा लाँदा गरिएको दुव्र्यवहार प्रति पार्टीको प्रवास नेपाल सम्पर्क विभागले गम्भीर आपत्ति जनाएको छ । राजनैतिक प्रतिशोधका साँधेर हिरासतमा राखिएको भन्दै विभागले एक प्रेस विज्ञप्ती मार्फत यो घटनाले चरम मानव अधिकार उल्लंघन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवास नेपाल सम्पर्क विभाग अस्ट्रेलियाका अध्यक्ष डा. कृष्ण कान्त पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले राज्य संयन्त्रको अत्याधिक दुरुपयोग गरी एक प्रतिस्पर्धी तथा बैकल्पिक लोकतान्त्रिक राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक व्यबहार गर्ने गरेको भन्दै गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तीमा लेखिएको छ- दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको अवस्थामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइएको घटना ,यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको घटनाको हामी घोर भर्त्सना गर्दछौं । सरकारको यस प्रकारको दुषकर्मले नेपाली नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको भन्दै विभागले यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूणर् राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा लेखिएको छ – रवि लामिछाने कसुरदार नभई एक आरोपित मात्र हुन् । सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेका छन् । अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधान २०७४ को धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा अन्तरराष्ट्रिय सजाय विरुद्धको महासन्धि, सन् १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं । राज्य संयन्त्र राष्ट्रिय स्वतन्त्र पार्टी र यसका सभापति विरुद्ध षडयन्त्रपूणर् रुपमा लागिरहेको समेत विभागले आरोप लगाएको छ । उसले राज्यको न्यायिक पद्धति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूणर्मा अपिल समेत गरेको छ ।
सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि लामिछाने प्रहरी हिरासतमा छन् । आईतबार मात्रै अनुसन्धानका लागि भन्दै थप चार दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मङ्गलबार चितवन लगेर बयान लिइएको थियो । सुरुमा सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान थालिएपनि पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछाने माथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।
रवि लामिछानेलाई अमानवीय ढंगले हिरासतमा राखिएको भन्दै पछिल्लो समय विभिन्न राजनैतिक दलका प्रतिनिधि, मानवअधिकारकर्मीहरुले पनि चासो देखाईरहेका छन् ।लामिछानेको शारिरिक र मानसिक अवस्थाको समेत ख्याल नगरी केबल म्याद थप गर्ने र हिरासत बसाई लम्बाई रहने षड्यन्त्रमा सरकार रहेको भन्दै देशभर विरोध पनि भईरहेको छ । केही दिन अगाडी मात्रै राप्रपाका नेता ज्ञानेन्द्र शाही, नेपाली काँग्रेसका नेता शेखर कोईराला लगायतले रवि लामिछानेलाई मानवताहीन र संवेदनाहीन तवरले हिरासतमा राखिएको भन्दै सार्वजनिक रुपमै सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर