प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं, मङ्सिर २८ गते । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आउनुभएको छ । उहाँ शुक्रबार बिहान काठमाडौं ओर्लिनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गर्नुभयो ।

लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौं आउनुभएको हो । वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहनुभएका उहाँले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ ।

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो । उहाँले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेल्नुभएको छ । एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाउनुभएको थियो । उहाँले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गर्नुभएको छ भने ४८ अर्धशतक प्रहार गर्नुभएको छ ।

उहाँले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाउनुभएको छ । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाउनुभएको थियो ।

त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेल्नुभएको छ । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उहाँले १० हजार चार सय पाँच रन जोडनुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर