तीनकुनेमा सरकारले जग्गा लुटेर राखेको छ, अहिलेको सरकारका पालामा नभए कहिल्लै समाधान हुदैनः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौंदेखि सरकारले लुटेर राखेको बताउँदै अहिलेको दुई तिहाईको सरकारले यसको समाधान गर्न नसके कहिल्लै समाधान नहुने बताएका छन् ।

शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरे ।

सरकारले विभिन्न बाहना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले बताए।

‘५० औं वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन,’ तीनकुनेभित्रका जग्गा धनीहरूको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा भएको प्रथम कोटेश्वर महोत्सवमा शुक्रबार बोल्दै मेयर शाहले भने, ‘कोही नेताहरूले मुआब्जाको प्रक्रिया अघि बढेको छ भन्नु भयो भने नपत्याउनुहोला, कुनै प्रक्रिया भएको छैन।’

उनले महोत्सव गर्न कार्यक्रम स्थल उपलब्ध गराएकोमा जग्गा धनीहरूलाई धन्यवाद पनि दिएका थिए।

‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कुन सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ मेयर बालेनले भने, ‘यसपालि दुई तिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन् । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ ।’

साथै उनले तीनकुनेका जग्गा धनीहरूलाई मुआब्जाका लागि संघीय सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको संघीय सरकारलाई दुई तिहाइ सांसदहरूको समर्थन छ। यसतर्फ लक्ष्य गर्दै मेयर शाहले भने, ‘यसपालि त दुई तिहाइको सरकार छ तैपनि केही गरेको छैन। कोही नेता घरमा आएर प्रक्रिया अघि बढेको छ भन्नुभयो भने नपत्याउनुहोला, प्रक्रिया केही बढेको छैन। मुआब्जा चाँडै होस् शुभकामना दिन सकिन्छ।’

साथै मेयर शाहले एमालेलाई लक्ष्य गर्दै वडा नम्बर ३२ का जनप्रतिनिधिदेखि संघीय सरकार बनाएको पार्टीले चाहेमा मुआब्जा दिन सक्ने पनि बताए। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा एमालेले जितेको थियो।

‘हाम्रो त वडा समिति पनि त्यही, सरकार, प्रधानमन्त्री तथा अर्थमन्त्री पनि सोही पार्टीको,’ एमालेप्रति लक्ष्य गर्दै उनले भने, ‘अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन। स्थानीय सरकारदेखि संघीय सरकारसम्मलाई भन्नुहोला, मलाई पनि भन्नुहोला। हाम्रो उमेरभन्दा पनि बढी भयो यो ठाउँको जग्गा सरकारले लुटेको।’

प्रतिक्रिया

सम्बन्धित खवर