फूलबारी(कैलाली), पुस १३ गते । नेपाल सरकारका परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताउनु भएको छ । शुक्रवार साँझ धनगढी पुग्नुभएकी परराष्ट्र मन्त्री डा. देउवाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको बताउनुभयो ।
पत्रकारहरूले धनगढी विमानस्थलमा राखेको एक जिज्ञासामा परराष्ट्र मन्त्री डा. देउवाले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाँडै निमन्त्रणा दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बर नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला , हामीलाई पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरूको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ । ”
यस्तै परराष्ट्र मन्त्री डा. देउवाले विपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्यक्त गर्नुभएको छ । लिखित रुपमा ईजराईली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभए पनि जोशीलाई स्वदेश ल्याउनेमा आफूले निरन्तर पहल गरिरहेको उहाँको भनाई छ ।
यस्तै पत्रकारहरूले राखेको एक फरक जिज्ञासामा निर्मला पन्तको घटनालाई भुल्न नसकिने बताउनुहुँदै पन्तकै जिल्लाका गृहमन्त्री भएकाले समेत छिट्टै पन्तले न्याय पाउने विश्वास समेत परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभयो ।
परराष्ट्र मन्त्री डा. राणा शनिवार कैलालीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उहाँसँगै वन मन्त्री ऐनबहादुर शाही ठकुरी समेत धनगढी पुग्नुभएको छ ।
परराष्ट्र मन्त्री राणाको धनगढी विमान स्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू र नेता कार्यकर्ताहरूले भव्य स्वागत गर्नु भएको थियो ।