माझी बस्तीका वीरबहादुरसँग मुख्यमन्त्रीको फोन संवाद

जनकपुरधाम,  पुस २० गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नवजात शिशुको मृत्यु हुने गरेको पीडामा रहेका मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग फोन संवाद गर्नुभएको छ।

माझी टोलमा जन्मिएका नवजात शिशुको मृत्यु हुँदै आएको भनेर प्रकाशित समाचारप्रति गम्भीर ध्यान गएको  जनाउँदै मुख्यमन्त्री सिँहले वस्तुस्थितिबारे जानकारी लिन टेलिफोन संवाद गर्नुभएको छ। उहाँले आफ्ना प्रेस सल्लाहकार अनिलकुमार कर्ण र स्वकीय सचिव रविन सिंहलाई शनिबार नै माझी टोल पठाउनुभएको छ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णले माझी टोलका पीडितसँग भेटेर नवजात शिशुको मृत्यु हुने गरेका घटनाबारे जानकारी लिनुभएको छ।

मुख्यमन्त्री सिंहले घटनाको कारण पहिचान तथा समाधानका लागि विशेषज्ञ चिकित्सक सम्मिलित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली माझी टोलमा पठाउने बताउनुभयो।

उहाँले कृष्णबहादुरको नवजात शिशुको एक महिनाअघि भएको निधनप्रति शोक व्यक्त गर्दै अकालमा कुनै पनि शिशुको ज्यान गुम्ने स्थितिलाई रोक्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उल्लेख गर्नुभयो।

आइतबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाश, प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रुबी सिंहलगायतको टोली आइतबार माझी बस्तीमा जाने प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर