पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित
मेलवर्न । अष्ट्रेलियाली नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा डा. तिलक पोखरेल निर्विरोध निर्वाचित भएका छन् । आइतवार निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिनै निर्विरोध निर्वाचित भएको हो ।
जसको उपाध्यक्षमा केशवराज कंडेल र प्रभा श्रेष्ठ, सचिवमा सुधिर शाक्य, सहसचिवमा दिपक आचार्य, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा मनिशा अर्याल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा एभान सुवेदी, पर्शुराम शर्मा लुइटेल, प्रिन्स भण्डारी, प्रेम प्रसाद कंडेल, सबिता अधिकारी र रुबी थापा मगर चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष डा. पोखरेलले हाल सचिवको रुपमा सेवा गरिरहेका छन् भने यस अघि कार्यकारी सदस्यको रुपमा समेत काम गरे । उनले आफूसहितको नेतृत्वले एएनएमसीले तोकेका उद्धेश्यहरुलाई पूर्ति गर्नको निम्ती नयाँ दृष्टिकोणसहित अघि बढ्ने बताए ।
कनेक्टनेपालीसँग कुरा गर्दै उनले अब आफू नेतृत्वको कार्यकालमा हाल सञ्चालनमा रहेका सम्पूर्ण परियोजनाहरुलाई समयमै सम्पन्न गर्ने, सरकारबाट थप अनुदानको लागि पहल गर्ने, एएनएमसीको मास्टरप्लानलाई जीवन्त रुप दिने, पारदर्शीता र समावेशीता ल्याउने, आर्थिक दिगोपना लगायतका विषयमा कटिबद्ध भएर काम गर्ने बताए ।
हालका अध्यक्ष गान्धि प्रसाद भट्टराईले नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम फेब्रुअरीमा गरिने जानकारी दिए ।
नयाँ कार्यसमिति चयनको लागि श्री पन्तको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जसको सदस्यहरुमा भोला गिरी, शुनिल भण्डारी, निरु त्रिपाठी र मनोज घिमिरे रहेका थिए ।