क्यानबेरा । नेपाली एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड एन्भायरनमेन्ट (नेपाफ) ले क्यानबेरास्थित टिड्बिनबिला नेचर रिजर्भमा सांस्कृतिक पदयात्रा र समुदाय जागरूकता कार्यक्रम गरेर अस्ट्रेलिया दिवस २०२५ मनाएको छ ।
नेसनल अस्ट्रेलिया डे काउन्सिलको सहयोगमा आयोजित यस कार्यक्रममा ८० भन्दा बढी प्रतिभागीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य आकर्षण आदिवासी समुदायसँगको संलग्नता, पर्यावरणीय स्थिरता र बहुसांस्कृतिक समावेशिता रह्यो।
कार्यक्रमको शुरुआत ननवाल आदिवासी समुदायका ब्राड्ली जिराबिज बेल र उनका परिवारद्वारा आयोजि वेलकम टु कन्ट्रीू र स्मोकिंग सेरेमोनीबाट भयो। कार्यक्रमका विशिष्ट अतिथि लौरा नटल एमएलएले पर्यावरण संरक्षणमा आदिवासी दृष्टिकोणको महत्वलाई उजागर गर्दै प्रवासी र बहुसांस्कृतिक समुदायहरूलाई दिगोपना पहलहरूमा सक्रिय भूमिका खेल्न प्रोत्साहित गरिन्।
नेपाफका अध्यक्ष डा. याकिन्द्र टिमिल्सेनाले समुदायलाई सम्बोधन गर्दै नेपाफको पर्यावरणीय दिगोपना, जलवायु सहनशीलता र समुदायप्रेरित संरक्षण प्रयासहरूको उद्देश्यलाई उजागर गरे। उनले नेसनल अस्ट्रेलिया डे काउन्सिललाई यस अर्थपूर्ण पहलमा सहयोग पुर्याएकोमा आभार व्यक्त गरे।
कार्यक्रममा आदिवासी नेताहरूको मार्गदर्शनमा स्यांक्चुअरी पदयात्रा सम्पन्न भयो, जसमा उनीहरूले मूल निवासी बोटबिरुवाहरू, पारम्परिक भूमि व्यवस्थापन पद्धतिहरू र वन्यजन्तु संरक्षणबारे आफ्नो ज्ञान साझा गरे। प्रतिभागीहरूले पर्यावरण जागरूकता छलफलमा पनि भाग लिए, जसमा नेपाफ सल्लाहकारडा. हेमन्त ओझा र डा. मानार्थ सदस्य कृष्ण हमाल लगायत अन्य विशेषज्ञहरूले जलवायु परिवर्तन, वन र जैविक विविधता संरक्षणबारे प्रस्तुती दिए।
कार्यक्रमको समापन समुदाय बीबीक्यू र नेटवर्किंग सत्रबाट भयो । प्रतिभागीहरूले विचारहरू आदानप्रदान गरे, सम्बन्धहरू कायम गरे र भविष्यका पर्यावरणीय पहलहरूबारे छलफल गरे। नेपाफ आजीवन सदस्य डा. बसुन्धरा भट्टराईले आदिवासी नेताहरू, समुदायका साझेदारहरू र स्वयंसेवकहरूको योगदानलाई स्वीकार गर्दै धन्यवाद प्रस्ताव राखिन्।
नेपाफले आफ्ना पर्यावरण संरक्षण पहलहरूलाई विस्तार गर्न र आदिवासी समुदायहरूसँग साझेदारी बढाउँदै स्थिर पर्यावरणीय अभ्यासहरूलाई प्रवर्धन गर्ने योजना बनाएको छ।