सिड्नीमा महिला सशक्तिकरण विषयक नारी निकुञ्ज, नरिश नेसन फाउन्डेसन, र स्मार्ट हेल्थ ग्लोबलको संयुक्त कार्यशाला

सिड्नी, अस्ट्रेलिया – नारी निकुञ्ज अस्ट्रेलिया, नरिश नेसन फाउन्डेसन, र स्मार्ट हेल्थ ग्लोबल अस्ट्रेलियाको सहकार्यमा सिड्नीमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कार्यशाला आयोजना गरिएको छ । न्यू साउथ वेल्स सरकारले आयोजना गरेको एक हप्ते महिला सप्ताह अभियानकै वीचमा उक्त कार्यशाला गर्न लागिएको हो ।

यस कार्यक्रममा स्वास्थ्य, नेतृत्व, र सामुदायिक सशक्तिकरणलाई बढावा दिने शैक्षिक, सांस्कृतिक, र अन्तरक्रियात्मक गतिविधिहरू समावेश गरिएको छ।

यो आयोजना न्यू साउथ वेल्स सरकारको महिला सप्ताह अनुदान कार्यक्रम र लिभरपूल सिटी काउन्सिलको सहयोगमा सम्पन्न हुने आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य उद्देश्य महिलाहरूको पोषण, मानसिक स्वास्थ्य, र नेतृत्वक्षमतालाई केन्द्रित गरी समुदायमा दीर्घकालीन प्रभाव कायम गर्नु रहेको जनाइएको छ ।

२ मार्चको दिन स्काइभ्यू रिसेप्शन एण्ड फंक्सन सेन्टर, सिड्नीमा विहान १० देखि ४ बजेसम्म हुने उक्त कार्यक्रममा महिला पोषण, मानसिक स्वास्थ्य, र नेतृत्वमा अन्तरक्रियात्मक प्यानल छलफल, स्वस्थ खानाको अभ्यास र पोष्ट मेनोपजल स्वास्थ्य सम्बन्धी कार्यशाला, जनकी पौडेलद्वारा पुस्तक विमोचन सँगै सांस्कृतिक प्रस्तुतिहरू रहने भएका छन् ।

उक्त कार्यशालामा अस्ट्रेलियाको लागि नेपाली राजदूत चित्रलेखा यादव, बेल्ला भिस्टा साइकियाट्री क्लिनिक का निर्देशक डा. घनश्याम चापागाईं, नरिश नेसन फाउन्डेसनका अध्यक्ष डा. एकिन्द्र तिमिल्सेना, लिभरपूलका लागि सांसद सदस्य सांसद करिश्मा कालियाण्डा, लिभरपूल सिटी काउन्सिलकी काउन्सिलर फियोना म्याकनट, नरिश नेशन फाउन्डेशनका सिइओ तथा बायोमटेरियल वैज्ञानिक डा. राजु अधिकारी, पब्लिक हेल्थ स्पेशलिस्ट तथा स्मार्ट हेल्थ ग्लोबलका सिइओ मनोज खड्का, काउन्सेलर तथा सोसलवर्कर शेर्जन डावर, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, न्यू साउथवेल्सका लागि नेपाली वाणिज्य दूत सन्जिव शर्मा, नारी निकुन्ज संस्थापक तथा सचिव जानकी पौडेल लगायतले प्रमुख वक्ताको रुपमा विचार राख्ने भएका छन् ।

आयोजनाको अध्यक्षता एनआरएनएको महिला विभाग नारी निकुञ्ज अस्ट्रेलियाकी राष्ट्रिय समन्वयक सङ्गीता चापागाईंले गर्नेछिन भने अमी कार्कीले संयोजन तथा सन्चालन नारी निकुन्ज अष्ट्रेलिया सचिव अर्चना गौतम र सदस्य मनिला सुवेदीले गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय