नेपाल फेष्टिभल मेलबर्नमा १ सय ३० भन्दा बढी दोश्रो पुस्ताका नेपाली बालबालिकाले आफ्नो प्रस्तुति दिँदै

मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल फेष्टिभल आयोजना हुँदैछ । आयोजना मिति नजिकिँदै जाँदा मेलबर्नको नेपाली समूदाय कार्यक्रमलाई लिएर उत्साही भएको छ । यो उत्साह दोश्रो पुस्ताका नेपालीहरुमाझ पनि बढेको छ । दोश्रो पुस्ता अर्थात् नेपाली आमाबाबुका अष्ट्रेलियामै जन्मिएका या आफ्नो जीवनको अधिकांश समय यहीँ शिक्षादिक्षा लगायतमा सहभागी भएका युवाहरु ।

एनआरएन भिक्टोरियाका युवा संयोजक सिद श्रेष्ठ १ सय ३० भन्दा बढी बालबालिकाले नेपाल फेष्टिभलमा आफ्नो विभिन्न प्रस्तुति दिने तय भएको बताउँछन् । उनका अनुसार गायन, नृत्य, प्रहसन मात्र होइन कार्यक्रम सञ्चालनको जिम्मेवारी पनि यहीँ हुर्किएका नेपाली युवापुस्ताले लिँदैछ । विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका भाषा विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुले कार्यक्रममा आफ्नो प्रस्तुति दिन लागेका हुन् । उनी भन्छन् “हाम्रो टिम पाठशालामा गएर नेपाल फेष्टिभल के हो, यहाँ जाँदा के हुन्छ । यसको महत्व कस्तो हो भनेर हामीले बुझाएका छौं ।”

एनआरएन भिक्टोरिया नारी निकुञ्जकी संयोजक राशीसिंह ठकुरी १८ भन्दा बढी प्रस्तुतिमा दोश्रो पुस्ताको सहभागिता रहने तय भएको जानकारी दिन्छिन् । उनले स्वयंसेवकको रुपमा पनि नेपाली समूदायको युवापुस्ताले योगदान दिने जानकारी दिइन् ।

युवा संयोजक सिद श्रेष्ठका अनुसार खुल्ला रुपमा मागिएको ईओआईमा १९ जनाभन्दा बढी दोश्रो पुस्ताका युवाहरुले आफुल कुनै न कुनै रुपमा नेपाल फेष्टिभलको दौरानमा स्वयंसेवा गर्न तयार रहेको भन्दै आवेदन दिएका छन् । उनले भने, “हामी उहाँहरुलाई समावेश गर्ने चरणमा छौं । नेपाल फेष्टिभलमा दोश्रो पुस्ताका नेपालीहरुको सहभागिताले उनीहरुमा आफ्नो भाषा, संस्कृति र परम्पराको ज्ञान मात्र बढाउने छैन समूदायका लागि केही गरें भन्ने गौरवबोध पनि गराउने र यो उनीहरुको हुर्काइसँगै बढ्दै जान्छ भन्ने लाग्छ ।”

नारी निकुञ्ज भिक्टोरिया सयोजक ठकुरी पनि भिक्टोरियामा नेपाली समूदायको ईतिहासमै दोश्रो पुस्तालाई अहिले जस्तो सहज विगतमा नरहेको बताउँछिन् । १२ वर्षको उमेरमा अष्ट्रेलिया टेकेकी उनी भन्छिन् “हिजो हामीहरुले आफ्नो परिवार या केही साथीभाई र नातेदार बाहेक अरु नेपाली भेट्दैनथ्यौं । आज हाम्रो बालबालिकाहरु हरेक साता भाषा विद्यालय जान्छन् । नेपाली संस्कृति परम्पराबारे पढ्छन् । घरमा नेपाली बोल्छन् अनि नेपालीमै आफ्नो भावना व्यक्त गर्न सक्छन् । मैले स्कुलमा नेपाली साथीभाई नभएकोले युनिभर्सिटी पुगेपछि मात्रै नेपाली बोल्ने अवसर पाएँ ।”
यही नयाँ पुस्ताका अष्ट्रेलियन नेपालीहरुको आत्मविश्वासलाई निरन्तरता दिन नेपाल फेष्टिभलले ठूलो भूमिका खेल्ने दुबैको मत छ ।

नेपाल फेष्टिभल मेलबर्नको सांस्कृतिक परेड बाहेक पनि ४ घण्टा विभिन्न उमेर समूहका अष्ट्रेलियन नेपाली युवाहरुले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको सञ्चालन, स्वयंसेवा लगायतलाई जोड्ने हो भने नेपाल फेष्टिभलकै सफलतापूर्वक आयोजनामा उनीहरुको भूमिका महत्वपूर्ण रहनेछ । यी प्रस्तुतिमा नेपालको हिमाल, पहाड र तराईका विभिन्न जात जाति, भाषा, संस्कृति र परम्पराको प्रदर्शनबाट नेपाली समाज आफैंमा पनि बहुसांस्कृतिक समाज हो भन्ने सन्देश दिने मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय