मेलवर्न । शनिवार सम्पन्न भएको अष्ट्रेलियाको संघीय निर्वाचनमा लेबर पार्टीको जित सुनिश्चित भएको छ । अष्ट्रेलियाका मुख्य समाचारमाध्यम स्काइ न्यूज, एबीसी, न्यूज, ७ न्यूज लगायतले हाल सत्तामा रहेको लेबरले नै लगातार दोस्रो पटक सरकार चलाउने निश्चित भएको पुष्टि गरेका छन् । यो सँगै एन्थोनी अल्बानिजीले प्रधानमन्त्रीको रुपमा फेरी तीन बर्ष शासन गर्नेछन् ।
Source; ABC
यता विपक्षी गठबन्धनको मुख्य दल लिबरल पार्टीका मुख्य नेता पिटर डटनले भने पार्टीको जित दिलाउन नसकेको मात्र नभएर आफ्नो निर्वाचन क्षेत्रबाट समेत हार व्यहोर्नुपर्ने पनि निश्चित भएको यहाँका मिडियाहरुले लेखेका छन् । उनी क्विन्सल्याण्ड राज्यको डिक्सनबाट चुनाव लडेका थिए ।
यसअघि २०२२ र २०१९ मा चुनाव जितेका उनले यसपटक भने नमिठो हार व्यहोर्नु पर्ने भएको हो । योसँगै विपक्षी दलको नेताको रुपमा पनि उनी बाहिरिनुपर्ने अवस्था देखिएको न्यूज डटकमले जनाएको छ ।