मेलबर्न । मेलबर्न विमानस्थलमा गत मंगलबार एक नेपाली विद्यार्थीको अस्ट्रेलियाली विद्यार्थी भिसा रद्द गरी नेपाल फर्काइएको छ। दुई वर्षअघि ब्याचलर तह अध्ययन गर्नका लागि अस्ट्रेलिया आएका ती विद्यार्थीले पछि आफ्नो कोर्स परिवर्तन गरी कुकरी कोर्समा भर्ना भएका थिए।
केही हप्ता अघि परिवार भेट्न भनेर नेपाल गएका उनी फर्कने क्रममा मेलबर्न एयरपोर्टमा अस्ट्रेलियाको सीमा सुरक्षा (बोर्डर फोर्स)ले उनलाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा ती विद्यार्थीको कुकरी कोर्सको पनि सिओई रद्द भइसकेको खुलेको थियो। कलेज र एजुकेसन एजेन्टले विद्यार्थीलाई यसअघि नै पटक पटक ईमेलमार्फत सूचित गरे पनि ती विद्यार्थीले कुनै जवाफ नदिएको पाइएको छ।
यसैकारण ती विद्यार्थीको भिसा रद्द गरेर अस्ट्रेलियाबाट निष्कासन गरिएको छ। विमानस्थलबाट समातेर उनलाई ब्रोडमिडोजस्थित डिटेन्सन सेन्टरमा राखिएको थियो । मंगलबार साँझ नै उनलाई नेपाल पठाइदिएको पुष्टि भएको छ ।
साथै, आगामी तीन वर्षका लागि अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध समेत लगाइएको छ। यस घटनाले विद्यार्थी तथा अभिभावकहरूलाई सचेत हुनुपर्ने सन्देश दिएको छ।