मेलवर्न । भिक्टोरियाको मेरिबेक सिटी काउन्सिल र नेपालको भरतपुर महानगरपालिकावीच औपचारिक भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।
भिक्टोरियामा नेपाली समुदायको पहिचानलाई सम्मान गर्दै मेरिबेक काउन्सिलले १४ मे २०२५ को दिन भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव पारित गरेको हो ।
यस प्रस्तावले अष्ट्रेलियामा पहिलोपटक नेपालसँग स्थानीय तहमा यस्तो सम्बन्ध स्थापित हुने बाटो खुलेको छ।नेपालका लागि भिक्टोरियामा कार्यरत अवैतनिक वाणिज्यदूत निराजन गौली र नेपाली वाणिज्यदूत कार्यालयको पहल तथा समन्वयमा सम्भव भएको यस सहकार्य प्रस्तावले अष्ट्रेलियाको इतिहासमा पहिलोपटक कुनै स्थानीय सरकारमार्फत नेपालसँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने अवसर प्रदान गरेको छ।
मेरिबेक सिटी काउन्सिलका मेयर हेलेन डेभिडसन, काउन्सिलरहरू तथा बोर्ड सदस्यहरूले काउन्सिलर क्रिस माइल्सद्वारा प्रस्तुत प्रस्तावलाई सर्वसम्मत रूपले अनुमोदन गरेका छन्। यस सहमतिसँगै भरतपुर महानगरपालिकासँग औपचारिक सहकार्यको बाटो खुलेको छ। दुबै स्थानीय निकायबाट आवश्यक प्रारम्भिक तयारीहरू सम्पन्न गरेपछि, औपचारिक बैठकहरूका लागि पत्राचार तथा समन्वयको प्रक्रिया अगाडि बढाइनेछ। उक्त प्रक्रियामा वाणिज्यदूत कार्यालयले दुबै काउन्सिलहरू समन्वय गर्दै सहजीकरणको भूमिका निर्वाह गर्नेछ।
यो सम्बन्ध केवल औपचारिकता मात्र नभई दुई समुदायबीचको सांस्कृतिक आदानप्रदान, सामाजिक एकता, शिक्षा, पर्यटन तथा स्थानीय प्रशासनिक अभ्यासहरूको आदानप्रदानमार्फत दीर्घकालीन सहकार्य र साझेदारी निर्माण गर्ने प्रयास भएको भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले बताए ।
मेरिबेक क्षेत्र, विशेषगरी ग्लेनरोय क्षेत्रमा उल्लेख्य नेपाली जनसंख्या रहेको तथ्यले यो सम्बन्धलाई थप अर्थपूर्ण बनाएको छ। नेपाली समुदायको सक्रिय सहभागिता र योगदानको सम्मानस्वरूप नगरस्तरमा यस्तो सम्बन्ध स्थापनाले सम्पूर्ण प्रवासी नेपालीहरूलाई थप प्रेरणा दिने विश्वास लिइएको छ।
अवैतनिक वाणिज्यदूत गौलीले उक्त सम्झौतालाई ऐतिहासिक उपलब्धिको रूपमा मूल्याङ्कन गर्दै गहिरो कृतज्ञता र उत्साह व्यक्त गरे । ‘यो सम्पूर्ण नेपाली समुदायका लागि गर्व र प्रेरणाको क्षण, ऐतिहासिक उपलब्धि हो। हाम्रो लामो मेहनत, कूटनीतिक पहल र साझा उद्देश्यको परिणामस्वरूप अष्ट्रेलियामा पहिलोपटक नेपालसँग भगिनी सम्बन्ध स्थापना हुन लागेको हो’, उनले भने, ‘यो केवल सुरुवात हो, अब हामीसँग अझ धेरै सम्भावनाहरू छन्। बधाई छ सम्पूर्ण नेपाली समुदायलाई।’
यो सहकार्यले दुई सहरबीच शैक्षिक, सांस्कृतिक, प्रशासनिक तथा विकास परियोजनाहरूमा सहयोगको ढोका खोल्ने विश्वास गरिएको छ। नेपाली र अष्ट्रेलियाली समुदायबीच मित्रता, समझदारी र आपसी सम्मानलाई मजबुत पार्दै, यो भगिनी सम्बन्धले भविष्यमा बहुआयामिक साझेदारीको आधार तय गर्ने गौलीले बताए ।