हिरासतमुक्त भएपछि रवीन्द्र मिश्रः संगठित अपराध गरेको छैन

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका राप्रपा नेता रवीन्द्र मिश्रले आफूले राज्यले आरोप लगाए जस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको बताएका छन् ।

बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । यसपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका मिश्रले अदालतको गेट बाहिर आएर भने, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’

उनले ४७ औं दिनसम्म पनि राज्यलाई अनुसन्धानमा सहयोग गर्छु भन्ने हिसाबले बन्दी प्रत्यक्षीकरणको निवेदन नदिएको समेत बताए । उनले १५ चैतमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि समेत व्यक्त गर्दै भने, ‘त्यो मैले सोचेको कुरा पनि होइन, म जस्तो मान्छेले योजना गरेको कुरा पनि होइन ।’

आफूले आन्दोलन ठूलो भएपछि कहिल्यै पनि आयोजकको, सरकारको नियन्त्रणमा हुँदैन भनेर सधैँ भन्ने गरेको भन्दै मिश्रले थपे, ‘चाहे त्यो २०४६ साल होस्, ०६२,६३ होस्, थारु आन्दोलन होस्, हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ । त्यसै हुनाले मैले बारम्बार मेरा सामाजिक सञ्जालका टिप्पणीहरुमा शान्तिपूर्ण संक्रमणबाट नवीन समझदारीबाट नविन समझदारीमा जाउँ भनेर भनेको छु ।’

तत्काललाई आफू हाजिर जमानतमा मात्र छुटेकाले धेरै खुशी हुने पक्षमा नरहेको समेत उनले बताए । १५ चैतमा भएको राजावादी आन्दोलनमा २ जनाको मृत्यु, २० जना प्रहरीको गोली लागेर घाइते, सार्वजनिक र निजी सम्पत्ति तोडफोड भएपछि प्रहरीले सोही दिन बेलुकी उनीसहित सांसद् धवलशमशेर राणालाई समेत पक्राउ गरेको थियो ।

विएण्डबी अस्पतालमा घाइतेलाई भेटिरहेका बेला उनीहरु पक्राउ परेका थिए । राणालाई भने यसअघि नै प्रहरीले छाडिसकेको छ । राजावादी प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंसहितका व्यक्तिहरु अझै हिरासतमा छन् । प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय