तस्वीर : एनबिसी
काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै अपार्टमेन्टमा मृत्यु भएको अवस्थामा भेटिनेहरुमा ३८ बर्षका सन्तोष परियार, ३६ बर्षकी अञ्जु श्रेष्ठ र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् ।
बिहीबार राति ११ बजे तिर घटना भएको प्रहरीको भनाई छ । घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।
‘हालसम्मको अनुसन्धानबाट हेर्दा यो घटना हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको छ’, मनासस पार्क प्रहरीले भनेको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन ।
छिमेकीहरूका अनुसार सन्तोषको परिवार करिब ६ महिनाअघि मात्र उक्त घरमा भाडामा सरेका थिए र उनीहरू नेपाली मूलका थिए । परिवार घरको तल्लो तलामा बस्दै आएको बताइएको छ ।
एनबिसी वाशिङ्टन डटकमका अनुसार प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको छ।
चारै जना मृत भेटिएको कोठाबाटै प्रहरीले पेस्तोल बरामद गरेको हो। मृत भेटिएका चारै जनाको शव प्रहरीले मेडिकल परीक्षणका लागि स्थानीय अस्पतालमा पठाएको छ। घटनास्थलमै पेस्तोल भेटिएका कारण प्रहरीले उक्त घटना हत्यापछि आत्महत्या हुन सक्ने आकलन गरेको छ।
यद्यपि हत्यापश्चात आत्महत्या गर्ने को हुन सक्छ भनेर प्रहरीले खुलाएको छैन। त्यो अझै अनुसन्धानकै क्रममा रहेको बताएको छ।