भिक्टोरियन नेपाली लिग २ ग्रेस कप – चितवन क्रिकेट क्लब बन्यो च्याम्पियन

मेलबर्न, अष्ट्रेलिया – भिक्टोरियन नेपाली लिग २ – ग्रेस कपको उपाधि चितवन क्रिकेट क्लबले हात पारेको छ ।

ग्रेस इन्टरनेशनल माइग्रेसन एण्ड एजुकेशनको मुख्य प्रायोजनमा र नेपाली क्रिकेट एसोसिएसन अफ भिक्टोरिया (एनसिएभी) को आयोजनामा आइतवार सम्पन्न प्रतियोगिताको फाइनलमा चितवनले फार वेस्ट हन्टर्सलाई ७ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

नेपाली समुदायका ९ क्रिकेट क्लबहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्ट हन्टर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनायो। जवाफमा चितवनले मात्र १७.१ ओभरमै ३ विकेट गुमाएर लक्ष्य सजिलै पूरा गर्दै प्रतियोगिता आफ्नो पक्षमा पार्‍यो।

चितवन क्रिकेट क्लब विजेता बन्दै पुरस्कार स्वरूप क्लबले ट्रफी, प्रमाणपत्र र ४ हजार ५ सय अष्ट्रेलियन डलर प्राप्त गर्‍यो। उपविजेता बनेको फार वेस्ट हन्टर्सले २ हजार ७ सय अष्ट्रेलियन डलर नगद पुरस्कार हात पार्‍यो।

प्रतियोगितामा चितवन क्रिकेट क्लब, फार वेस्ट हन्टर्स क्रिकेट क्लब, ट्राइकोन क्रिकेट क्लब, ब्राइटन भिक्टोरिया क्रिकेट क्लब, द हिमालयन क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, भीएक्सएल रोयल राइनोज क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको महत्वबारे बोल्दै आयोजक (एनसिएभी)का अध्यक्ष विकाश सापकोटा भन्छन्, “खेलले हाम्रो समुदायलाई केवल प्रतिस्पर्धात्मक मात्र होइन, एकतामा पनि बाँध्ने काम गर्छ।”

यसैगरी, ग्रेस इन्टरनेशनलका निर्देशक दीपक आचार्यले भने, “पहिलो संस्करणमै यति उत्साहजनक सहभागिता पाउँदा हामी हर्षित छौं, यसलाई हामी नियमित बनाउनेछौं।”

प्रतियोगितालाई ग्रेस इन्टरनेशनल, सेक्सेना प्रोपर्टी सर्भिसेस, लेन्डभाइजर फाइनान्स, एभरेस्ट होम लोन, ब्लू लोटस कलेज, मेलबर्न इन्स्टिच्युट अफ हायर एजुकेशन र यात्रा–द कनेक्शन, एमबिआर क्रिकेटले प्रायोजन गरेका थिए ।

प्रतियोगिताका उत्कृष्ट  खेलाडीहरूमा ब्राइटन भिक्टोरिया क्रिकेट क्लबका सागर खड्का ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित भए भने चितवनका राजेश पुलामी मगर ‘बेष्ट ब्याट्सम्यान’, फार वेस्टका दीपेश बिष्ट ‘बेष्ट बलर’ र ब्राइटनका किरण पाण्डे ‘बेष्ट विकेटकिपर’ घोषित भए। प्रत्येकले २०० डलर नगद तथा एमबिआर प्लेयर अडिसनको विशेष खेल सामाग्री पुरस्कार स्वरूप पाए।

भिक्टोरियन नेपाली लिग २ – ग्रेस कपले अष्ट्रेलियास्थित नेपाली समुदायबीचको सद्भाव, उत्साह र खेल प्रतिभालाई एक मञ्चमा ल्याउने प्रयास गरेको आयोजकको दावी छ । आयोजकहरूले भविष्यमा अझ ठूलो र समावेशी प्रतियोगिता गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय