मेलवर्न । अष्ट्रेलियाको भिक्टोरियामा बसेर लामो समयदेखि नेपाली समुदायमा क्रियाशील समाजसेवी तारा गैरे ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
भिक्टोरियाको नेपाली समुदायसँग लामो समयदेखि प्रत्यक्ष रूपमा जोडिएका उनी विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए भिक्टोरियाका का प्रायः सबै कार्यक्रमहरूमा कुनै न कुनै रूपमा संलग्न रहँदै आएका छन्।
नेपाल फेस्टिभल मेलबर्न २०१६ र २०१८ मा सहसंयोजक को भूमिका निभाएका गैरेले चाहे च्यारिटी कार्यक्रम होस्, खेलकुद, सामाजिक चेतनामूलक अभियान वा सांस्कृतिक कार्यक्रम, हरेक मोर्चामा अग्रपंक्तिमा उभिएर काम गर्दै आएको अनुभव सुनाए।
‘सामाजिक संस्थाहरूमा मेरो सक्रियता, योगदान र कमिटमेन्टको कुरा मैले धेरै भन्नु नपर्ला जस्तो लाग्छ’, उनले भने, ‘साँचिकै भन्नुपर्दा मैले धेरै अग्रजहरूसँग सल्लाह पनि गरेको छैन, तर मलाई थाहा छ – तारा गैरे भन्नासाथ काम गर्ने मान्छे सम्झनुहुन्छ, मैदानमा उभिने मान्छे सम्झनुहुन्छ।’
उनले औपचारिक एजेन्डाको तुलनामा आफ्नो निरन्तरको प्रतिबद्धता र व्यवहारिक कामको मूल्याङ्कन गरिदिन समुदायसँग आग्रह गरे।
गैरेले उम्मेदवारीमार्फत संस्थाको औपचारिक संरचनामा आवद्ध भएर अझ व्यापक हित, सशक्त नेपाली डायस्पोरा र संस्थागत सुदृढीकरणका लागि जिम्मेवारीपूर्वक काम गर्ने विश्वास दिलाए।
कनेक्ट नेपालीसँग कुराकानी गर्दै उनले थपे, ‘संस्थामा प्रत्यक्ष रूपले आबद्ध भएपछि मेरो जिम्मेवारी झन् गह्रौं हुनेछ, तर म त्यसका लागि तयार छु। मलाई सबैजनाको साथ र समर्थनको अपेक्षा छ।’
गैरेले एनआरएनए अष्ट्रेलियामा हाल देखिएको एक महत्वपूर्ण समस्या – आजीवन सदस्यहरूको मतदान अधिकार खोसिएको विषयमा पनि स्पष्ट धारणा व्यक्त गरेका छन्। “आजीवन सदस्यता केवल नामको सूची होइन, यो एनआरएनए आन्दोलनमा उल्लेखनीय योगदान पुर्याउनु भएका अग्रजहरूको सम्मान हो,” उनले भने। सदस्यता लिइसकेपछि हरेक निर्वाचनमा पुनः दर्ता गर्नुपर्ने, आधारभूत कागजातहरू बारम्बार अपलोड गर्नुपर्ने प्रणाली असंगत र अपमानजनक भएको उनको तर्क छ। उनले सदस्य प्रोफाइल सहज अपडेट गर्न मिल्ने डिजिटल प्रणाली निर्माणको खाँचो औंल्याउँदै भने,- “यदि म एनसीसी सदस्यमा चुनिएँ भने, मेरो पहिलो प्राथमिकता नै यो प्रणालीमा परिवर्तन ल्याउने हुनेछ, आजीवन सदस्यहरूलाई सास्ती होइन, विशेषाधिकार मिल्नुपर्छ।”
तारा गैरेको समुदायप्रतिको सक्रियता केवल एनआरएनएमा सीमित छैन। उनी हाल एएफएल (AFL) का कम्युनिटी एम्बासडरका हुन् भने भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतको क्षेत्रीय सल्लाहकार काउन्सिल को सदस्यका रूपमा कार्यरत छन्। उनी नेपाली संघ मिटोरिया (न्याभ) मा कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष र अध्यक्षको रुपमा काम समेत गरिसकेका छन् ।
त्यसैगरी, उनले क्रिकेट भिक्टोरियामा पनि पूर्व कम्युनिटी एम्बासडरका रूपमा योगदान पुर्याइसकेका छन्। खेलकुद, सांस्कृतिक र सामाजिक नेतृत्वमा सक्रिय गैरे द हिमालयन क्लबका सह–संस्थापक तथा नेपाली स्पोर्टस एसोसियसन अफ भिक्टोरिया (एनएसएभी) का संस्थापक अध्यक्ष हुन्। त्यस्तै उनी गल्कोट समाज भिक्टोरियामा पनि नेतृत्व गरे ।
उनको नेतृत्व र सेवाको अनुभवले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई विभिन्न तहमा प्रतिनिधित्व गर्न, सशक्त बनाउन र एकजुट गराउन महत्वपूर्ण भूमिका खेलेको छ।