मेलबर्न । अष्ट्रेलियाको क्षेत्रीय भिक्टोरियामा बसेर लामो समयदेखि नेपाली समुदायमा क्रियाशील समाजसेवी मिना मल्लले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि भिक्टोरिया नारी निकुञ्ज सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
नेपाली समुदाय, महिला सशक्तिकरण, स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी मल्ल हाल Integrity Australia मा टेक्निकल एनालिस्टको रूपमा कार्यरत छिन् भने स्थानीय नर्सिङ होममा फ्रन्टलाइन स्वास्थ्यकर्मीको भूमिकामा समेत काम गर्दै आएकी छन्। साथै, उनी हाल La Trobe University मार्फत Master of Nursing Practice अध्यनरत छिन्।
नेपालको सुदूरपश्चिम कैलाली, धनगढीमा जन्मिएकी मल्लले त्रिचन्द्र कलेज हुँदै त्रिभुवन विश्वविद्यालयसम्मको अध्ययन पूरा गरेपछि करिब ६ वर्षअघि अष्ट्रेलिया आएकी थिइन्। अष्ट्रेलियाको शेपरटन क्षेत्रलाई आफ्नो कर्मभूमिका रूपमा स्वीकार गर्दै उनले यहाँका नेपाली र अन्य बहुसांस्कृतिक समुदायलाई जोड्ने थुप्रै अभियानमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्।
मिना मल्लले नेपालमा रहँदा महिला सशक्तिकरण, पहुँच र स्वास्थ्यका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेकी हुन् भने अष्ट्रेलिया आएपछि उनले महिला नेतृत्व, समुदाय समावेशिता, स्वास्थ्य तथा सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै आएकी छन्। उनी South Shepparton Community Centre मा दुई वर्ष स्वयंसेवकका रूपमा संलग्न रहिन् भने Greater Shepparton Women’s Charter Advisory Committee मा तीन वर्ष सदस्यको रूपमा काम गरिन्। उनी Mooroopna Rotary Club की सक्रिय सदस्य हुनुका साथै विगत चार वर्षसम्म Didi-Bahini Samaj Victoria की युनिट को–अर्डिनेटरका रूपमा काम गरेपछि हाल सो भूमिकाबाट राजीनामा दिई स्थानीय रूपमा प्रेरित नेपाली मूलका महिलालाई नेतृत्व हस्तान्तरण गरिसकेकी छन्। उनी The Boor Bell’s – Migrant Women’s Network की संस्थापक तथा मिडिया संयोजक हुन्। बहुसांस्कृतिक समावेशितामा अग्रणी भूमिका खेलेकी मल्ल Victorian Multicultural Commission अन्तर्गत Hume Region को क्षेत्रीय सल्लाहकार परिषद् सदस्य (२०२३ देखि), Goulburn Valley Health Advisory Committee की सदस्य (२०२४ देखि), तथा हाल Goulburn Murray Community Leadership Board मा कार्यरत छन्।
सामुदायिक नेतृत्वमा लामो समयको योगदानस्वरूप उनलाई Greater Shepparton Volunteering Award 2023 मा मनोनयन गरिएको थियो। साथै, Nepalese Association of Victoria (NAV) द्वारा Outstanding Volunteering Award प्राप्त गरेकी छन् भने Australia Day 2025 मा “Community Event of the Year” को मान्यता Love Your Sister Fundraiser कार्यक्रममार्फत प्राप्त गरेकी छन्।
‘म एक आत्मनिर्भर, आत्मविश्वासी र नेपाली मूलकी महिला हुँ जसले समुदायप्रति गहिरो जिम्मेवारी बोध गर्छु,’ उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, ‘म एनआरएनए जस्तो अग्रणी गैर–नाफामुखी अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध भएर आफ्नो मुल देश — जहाँ मेरो मन र हृदय बसेको छ — त्यहाँ सेवा गर्न पाउँदा गौरव अनुभव गर्दैछु।’
उनले समुदायमा समान अवसर, समावेशी सहभागिता, र महिला तथा LGBTQ+ समुदायका लागि आवाज उठाउने प्रतिबद्धता जनाएकी छन्। क्षेत्रीय तथा शहरी नेपाली समुदायबीचको सहकार्य, शिक्षा, स्वास्थ्य, खेलकुद, र सांस्कृतिक अवसरमा सहज पहुँच स्थापित गर्न आफू लागिपर्ने बताएकी छन्।
कनेक्ट नेपालीसँगको कुराकानीमा उनले भनिन्, ‘म नेतृत्वलाई केवल पद होइन, जिम्मेवारीको रूपमा लिन्छु। मेरो अनुभव, समझदारी र भावनात्मक बुद्धिमत्ताका आधारमा म NRNA मा नयाँ सोच र कामको शैली ल्याउन चाहन्छु।’
उनको भनाइमा, ‘सफलता केवल परिणाममा होइन, प्रक्रियाको मूल्याङ्कनमा हुन्छ। म त्यसैलाई विश्वास गर्छु – इमानदारी, सहानुभूति र समावेशिताको मार्गमा अघि बढ्न।’
उनको समुदायप्रतिको समर्पण र नेतृत्वले अष्ट्रेलियामा रहेका नेपाली डायस्पोरा समुदायलाई अझ सशक्त र एकजुट बनाउने विश्वास गरिएको छ।