‘हाम्रो कम्युनिटी’ को बहुसांस्कृतिक भलिबल प्रतियोगिताः द स्पाइकर्स बन्यो च्याम्पियन

मेलवर्न, – ‘हाम्रो कम्युनिटी’ द्वारा आयोजित बहुसांस्कृतिक भलिबल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। क्यारोलिन स्प्रिङ्स स्पोर्ट्स सेन्टरमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको यस प्रतियोगितामा नेपाली समुदायसहित अन्य विभिन्न समुदायका टोलीहरूले उल्लेखनीय सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै द स्पाइकर्स (‘The Spikers’) टोलीले उपाधि जित्न सफल भएको छ भने हिमालयन टाइगर्स (‘Himalayan Tigers’) उपविजेता बनेका छन्। विजेता टोलीले १,५०० डलर नगद र ट्रफी प्राप्त गरे भने दोस्रो स्थान हासिल गर्ने टोलीले १,००० डलर पुरस्कार प्राप्त गर्‍यो।

प्रतियोगिताका विशेष पुरस्कारहरूमा द स्पाइकर्स का खेलाडी पेनी सोलोमुओलाई उत्कृष्ट स्पाइकर घोषित गरिएको छ। त्यस्तै, उत्कृष्ट खेलाडीको उपाधि (Most Valuable Player – MVP) ताइ काइसालाले प्राप्त गरे भने हिमालयन टाइगर्स टोलीका खेलाडी गेरी सरवारालाई उत्कृष्ट सेटरको रूपमा सम्मानित गरिएको छ। प्रतियोगिताको नियम, विधि र संरचना प्रस्तुत गर्ने कार्य महेश श्रेष्ठले गरेका थिए, जसले खेलाडीहरूलाई आवश्यक दिशा र अनुशासनबारे जानकारी दिएका थिए।

कार्यक्रमको समापनमा मुख्य प्रायोजक अजि फाइनान्सका सन्चालक सन्नी हमालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै सहभागी, आयोजक, स्वयंसेवक तथा समर्थकहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद मन्तव्य दिएका थिए। उनले यस किसिमका कार्यक्रमहरू समुदायलाई नजिक ल्याउने, सकारात्मक ऊर्जा प्रदान गर्ने र खेलकुद संस्कृतिको विकासमा टेवा पुर्‍याउने बताए।

‘हाम्रो कम्युनिटी’ का अध्यक्ष प्रकाश अर्यालले प्रतियोगिता बारे प्रतिक्रिया दिंदै भने, “यस प्रतियोगितामार्फत हामीले खेलकुदमा मात्र होइन, समुदायबीचको सहकार्य, सद्भाव र मित्रता पनि मजबुत बनाएका छौं। नेपाली समुदायसँगै अन्य समुदायहरूको सहभागिता हेर्न पाउनु गर्वको कुरा हो। यो हाम्रो ‘एकता र विविधता’को सन्देश बोकेको प्रयास हो। आगामी दिनहरूमा अझ ठूलो स्तरमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै लैजाने योजना छ।”

यस प्रतियोगिताको औपचारिक सञ्चालन ‘हाम्रो कम्युनिटी’ का युवा संयोजक अनिश शर्मा गैरेले गरेका थिए।

अजि फाइनान्सको मुख्य प्रायोजन तथा आइसिएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसन र ८८४८ फेमिली मार्टको विशेष सहयोगमा सम्पन्न भएको यस प्रतियोगितामा कुल १० टोलीले सहभागिता जनाएका थिए। आयोजकहरूले यस्तो बहुसांस्कृतिक खेलकुद कार्यक्रमले मेलबर्नमा बसोबास गर्ने विभिन्न समुदायहरूबीचको आपसी समझदारी, सहकार्य र सामाजिक एकता बढाउन ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय