मेलवर्न । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विश्वकै पहिलो कदममा युट्युबलाई पनि समावेश गर्ने निर्णय गरेको छ। पहिले यस प्लेटफर्मलाई छुट दिइने भनिएको थियो, तर सरकारले अहिले त्यो छुट हटाएको हो।
यो प्रतिबन्ध डिसेम्बरदेखि लागू हुनेछ र यसले टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स (पूर्व ट्विटर), र स्न्यापच्याटमा पनि लागू हुनेछ। नयाँ नियमअनुसार किशोरकिशोरीहरूले युट्युब भिडियो हेर्न सक्ने भए पनि खाता खोल्न पाउने छैनन्। खाता बिना प्रयोगकर्ताहरूले सामग्री अपलोड गर्न, टिप्पणी गर्न वा अन्य अन्तरक्रिया गर्न सक्दैनन्।
गुगल स्वामित्वमा रहेको युट्युबले यसअघि आफुलाई सामाजिक सञ्जाल नभएको भन्दै प्रतिबन्धबाट छुट दिनुपर्ने तर्क गरेको थियो। “युट्युबले कम उमेरका अस्ट्रेलियालीहरूलाई लाभ र मूल्य प्रदान गर्छ,” कम्पनीले बुधबार एक वक्तव्यमा भनेको थियो।
अस्ट्रेलियाको यो निर्णयलाई विश्वभरका नेताहरूले चासोका साथ हेरिरहेका छन्। नर्वेले यस्तै प्रतिबन्ध लागू गर्ने घोषणा गरिसकेको छ भने बेलायतले पनि त्यसबारे विचार गरिरहेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले बुधबार पत्रकार सम्मेलनमा भने, “सामाजिक सञ्जालले हाम्रा बच्चाहरूलाई सामाजिक हानि गरिरहेको छ, र म अस्ट्रेलियाली आमाबुबालाई भन्न चाहन्छु कि हामी तपाईंहरूकै पक्षमा छौं।”
उनले थपे, “यो एक मात्र समाधान होइन भन्ने हामी जान्दछौं, तर यसले निश्चित रूपमा फरक पार्नेछ।”
गत महिना अस्ट्रेलियाकी इ सेफ्टी कमिश्नर जुली इनम्यान ग्रान्टले युट्युबलाई पनि प्रतिबन्धमा समावेश गर्न सिफारिस गरेकी थिइन्, किनभने १० देखि १५ वर्षका बालबालिकाले ‘हानिकारक सामग्री’ देखिएको भनेर सबैभन्दा बढी उल्लेख गर्ने प्लेटफर्म यही हो।
बुधबारको घोषणापछि युट्युबका प्रवक्ताले भने, “हामी सरकारसँग निरन्तर संवाद गरिरहनेछौं र अबको कदमबारे विचार गर्नेछौं।”
गत हप्ता केही अस्ट्रेलियाली मिडियाहरूले गुगलले युट्युब प्रतिबन्धमा परे कानुनी कारबाही गर्ने चेतावनी दिएको भनेर रिपोर्ट गरेका थिए। गुगलले यसलाई राजनीतिक स्वतन्त्रता माथिको प्रतिबन्ध भनेको थियो।
संघीय सञ्चार मन्त्री एनीका वेल्सले भनिन्, “सामाजिक सञ्जालको ठाउँ छ, तर बच्चाहरूलाई लक्षित गर्ने शिकारजन्य एल्गोरिदमको कुनै ठाउँ छैन।”
उनले इन्टरनेटबाट बच्चाहरूलाई जोगाउनु ‘समुद्रको छालबीच बच्चालाई पौडी सिकाउने प्रयास जस्तो हो’ भन्दै तुलना गरिन्। “हामी समुद्र नियन्त्रण गर्न सक्दैनौं, तर सिकारिहरूलाई नियन्त्रण गर्न सक्छौं। त्यसैले बच्चाहरूको सुरक्षाको यो लडाइँमा कानुनी धम्कीले हामीलाई रोक्दैन।”
प्रतिबन्धमा केही अपवादहरू पनि हुनेछन् — जस्तै अनलाइन गेम, सन्देश सेवा, शैक्षिक र स्वास्थ्यसम्बन्धी एपहरू, जसले सामाजिक सञ्जालजस्ता हानिकारक प्रभावहरू कम पार्छन्।
नयाँ नियमअनुसार प्रविधि कम्पनीहरूले प्रतिबन्धको पालना नगरे ५० मिलियन अष्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्नेछ। तिनीहरूले पुराना खाता निष्क्रिय गर्नुका साथै नयाँ खाता खोल्न रोक्नुपर्नेछ, साथै कुनै वैकल्पिक उपायमार्फत प्रतिबन्ध उल्लंघन नगर्ने सुनिश्चित गर्नुपर्नेछ।