मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा मनाइँदै, बहुसांस्कृतिक जागरूकता फैलाउने विश्वास

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक आगामी सेप्टेम्बर ६, २०२५ मा इन्द्रजात्रा पर्व आयोजना हुँदैछ।

प्रत्येक वर्ष काठमाडौं र अन्य नेपाली शहरमा मनाइने इन्द्रजात्रा पर्व नेवा गुठी मेलवर्नद्वारा मेलवर्नमा पहिलो पटक आयोजना गरिएको हो। पर्वको मुख्य समारोह अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी), डिगरस् रेस्ट, भिक्टोरियामा हुनेछ, जसमा सांस्कृतिक नृत्य, रथयात्रा र देवीदेवताको पूजा हुने बताइएको छ।

यस पर्वको प्रमुख दिनको कार्यक्रम सेप्टेम्बर ६, २०२५ शनिबार बिहान १० बजे सुरु हुनेछ र साँझ ५ बजे सम्म चल्नेछ। विभिन्न सांस्कृतिक प्रस्तुतिहरु, नाचगान र धार्मिक पूजा हुने आयोजक नेवा गुठी मेलवर्नका कार्यकारी सदस्य सुरज प्रधानले जानकारी दिए।

इन्द्रजात्रा पर्व भगवान इन्द्रको पूजा र आभार व्यक्त गर्ने अवसर हो, जसले वर्षा र समृद्धिको देवता मानिन्छ।

कार्यक्रमबारे प्रकाश पार्दै गुठीका अध्यक्ष माया प्रसाद सुवालले भने, “यो पर्व हाम्रो सांस्कृतिक एकता र पहिचानको प्रतीक हो। यसले अष्ट्रेलियामा नेपाली समुदायलाई अझ एकताबद्ध बनाउने अवसर दिनेछ।”

त्यस्तैगरी संस्थाका सल्लाहकार रञ्जन वैद्यले यस पर्वलाई अष्ट्रेलियामा नेपाली संस्कृति र परम्परा प्रस्तुत गर्ने एउटा ठूलो अवसरको रूपमा हेरेको बताए । उनले भने, मेलबर्नमा यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली समुदायको सांस्कृतिक धरोहरको सम्मान गर्छ।”

कार्यकारी सदस्य सूरज प्रधानले यो पहिलो प्रयास भएको भन्दै भविष्यमा यसलाई अझ ठूलो र भव्य बनाउने योजना रहेको बताए ।

आयोजकहरूले यो पर्वलाई आगामी वर्षहरूमा एक स्थायी वार्षिक महोत्सवको रूपमा आयोजना गर्ने योजना बनाएका छन्। यसले अष्ट्रेलियामा रहेका नेपाली समुदायको सांस्कृतिक समृद्धि र एकतालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

हिन्दू र बौद्ध परम्पराको सम्मिलनले यो पर्वलाई विविधतामा एकता र परस्पर समझदारीको प्रतीक बनाउँछ। अष्ट्रेलियामा यो पर्वले नयाँ संस्कृति र व्यापक नेपाली संस्कृतिका विशेषताहरूलाई प्रस्तुत गर्दै, बहुसांस्कृतिक जागरूकता फैलाउने र नेपाललाई सांस्कृतिक र पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न मद्धत पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रमको अवसरमा ५००० भन्दा बढी सहभागीको सहभागिता अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय