मेलबर्न – विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हाम्रो कम्युनिटीले परम्परागत शैलीमा हरितालिका तीज पर्व भव्यताका साथ मनाएको छ। यही अगस्ट २३ तारिख शनिबार मेल्टन कम्युनिटी हलमा आयोजित कार्यक्रममा महिलाहरुको महान पर्व तीज उल्लासपूर्वक सम्पन्न भएको हो।
कार्यक्रमको विशेष आकर्षणका रुपमा हाम्रो वर्णमाला भाषा विद्यालयका बालबालिकाले प्रस्तुत गरेका सांगीतिक नृत्य तथा गीत–संगीतले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध पारे। साथै, उपस्थित महिलाहरुले रंगीचंगी पोशाकमा परम्परागत नृत्य प्रस्तुत गर्दा हलभरि रमाइलो तीजको वातावरण सिर्जना भएको थियो। दाजुभाइहरुले बाजा बजाउँदा दिदीबहिनीहरुले नाचगान गरेर वातावरणलाई अझै उत्साहपूर्ण बनाएका थिए।
सो अवसरमा १० जना दिदीबहिनीलाई र्याफलमार्फत तीज गिफ्ट प्रदान गरिएको थियो। यसरी आफ्नै सहभागिता, गीत, बाजा र नृत्यमार्फत कार्यक्रमलाई सफल बनाउन पाउँदा समुदायका सदस्यहरु अत्यन्तै उत्साहित देखिन्थे।
कार्यक्रमका बारेमा जानकारी दिँदै अध्यक्ष प्रकाश अर्यालले यसपटक पनि कलाकार बोलाउने होडबाजीभन्दा परम्परागत शैलीमा आफ्नै समुदायका सदस्यहरुलाई प्रोत्साहित गर्दै तीज मनाइएको बताए। उनले विशेषगरी मेलबर्नमा रहेका स्थानीय नेपाली कलाकार, महिला तथा बालबालिकाको सक्रिय सहभागिताले कार्यक्रम अझ अर्थपूर्ण बनेको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा डम्फु र मादल बजाएर तीज धमाका गरिँदा उपस्थित दर्शकले ठूलो उत्साहका साथ रमाइलो गरेका थिए। उक्त अवसरमा कलाकारद्वोय प्रकाश सापकोटा र डिबी कालिजले आफ्नो सांगीतिक प्रस्तुती मार्फत दर्शकहरुलाई तताए ।
सो कार्यक्रमलाई अजी फाइनान्सले मुख्य प्रायोजन गरेको थियो भने आईसीएस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनले प्लाटिनम स्पोन्सरको रुपमा र ८८४८ फेमिली मार्टले गोल्ड स्पोन्सरको रुपमा सहयोग गरेका थिए।
यसपटकको तीज कार्यक्रमलाई युवा संयोजक अनिश शर्मा गैरे र उपाध्यक्ष सिर्जना खरालले सञ्चालन गरेका थिए।
कार्यक्रम शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म चलेको थियो।
हेरौं फोटो व्यवस्थापक जीवन रसाइली प्रोडक्सनले सौजन्य गरेका तस्विरहरु