चौधरी ग्रुपको खाने तेलमा कालोबजारी

 

नेपालका अर्बपति बिनोद चौधरी नै अध्यक्ष रहेको चौधरी ग्रुप अन्तर्गतको सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्रि गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर खाने तेलमा कालोबजारी गरेको पाईएको छ ।

सो उद्योगले खानेतेलमा मूल्य नै नराखी उत्पादन गरेर कालोबजारी गरेको पाइएको छ । २०७७ सालको असारमा १६५ रुपैयाँ प्रतिलिटर रहेको सनफ्लावर तेल २०७८ असारमा २३० रुपैयाँ पुग्यो । अहिले २०७९ असारमा आउँदा सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३८० रुपैयाँ औसतमा बिक्रि भईरहेको छ ।

चौधरी ग्रुपको उद्योगले उत्पादन गर्ने शेफ ब्राण्डको सनफ्लावर तेलको भाउ त उपभोक्ताले प्रतिलिटर ४ सय रुपैयाँसम्म तिर्नु परिरहेको छ । मूल्य नखुलाई उद्योगले बजारमा तेल पठाएकाले उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा बढी मूल्य तिर्नु परिरहेको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) मा उद्योगीले उत्पादन गर्ने वस्तु तथा सेवाको उत्पादन मिति, उपभोग योग्य अवधि, मूल्य, स्वास्थ्यमा पार्ने असर, बस्तुमा गरिएको मिसावट प्रष्ट रुपमा खुलाउनुपर्नेछ  प्रावधान छ ।

तर चौधरीको सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्री गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा न उत्पादन मिति लेखिएको छ, न बिक्री मूल्य खुलाईएको छ ।

यस विषयमा हालसम्म कुनैपनि छानबिन भएको छैन । बिनोद चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाको नजिकका पात्र मात्रै होइनन्, आर्थिक सल्लाहकार नै हुन् । काँग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीलाई प्रधानमन्त्रीकै संरक्षण रहेको बुझिन्छ ।

कालोबजारीको अनुगमन गर्ने मुख्य निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग हो । तर, विभागले चौधरी ग्रुपको शेफ ब्राण्डको सनफ्लावर तेलको मूल्य नखुलाईएको र उत्पादन मिति पनि नलेखिएको विषयमा कुनै कदम चालेको छैन ।

विभागले अहिलेसम्म कुनै गुनासो तथा उजुरी नआएको र बजार अनुगमनका क्रममा पनि नभेटिएकाले कुनै कारबाही प्रक्रिया अगाडी नबढेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय