मेलवर्न । अष्ट्रेलियाका विभिन्न शहरहरुका लागि नेपाली हिन्दूहरुको महान पर्व विजयादशमी अन्तर्गत टीकाको उत्तम साइत सार्वजनिक गरिएको छ ।
नेपाली हिन्दू समाज अष्ट्रेलियाले सार्वजनिक गरे अनुसार सिड्नीको लागि टीकाको उत्तम साइत विहान १०ः४१ मा रहेको छ भने मेलवर्नको लागि १०ः५५ रहेको छ ।
त्यस्तै व्रिसवेनको लागि विहान ११ः०५, एडिलेडको लागि ११ः२५, क्यानबेराको लागि १०ः५६, तास्मानियाको लागि १०ः२१, पर्थको लागि ११ः२७ र डार्विनको लागि १०ः०६ उत्तम रहेको छ । समाजका अनुसार पूर्वतर्फ फर्केर टीका लगाउन उत्तम रहेको छ ।
एएनएमसीको दशैंविशेष पूजा
यस्तै मेलवर्नमा अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले दशैं विशेष विशेषपूजाआजा गरिरहेको छ ।
डिगर्स रेष्टमा १५ एकर जग्गा खरिद गरि बहुसांस्कृतिक केन्द्र बनाउने अभियान चलाएको उक्त संस्थाले घटस्थापना देखि नै नियमित रुपमा पूजाआजा गरिरहेको संस्थाका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।
उनका अनुसार स्थानीय गुरुहरु मिलन ज्ञावली, नारायण दाहाल र शंकर गौतमले विशेष पूजाआजा गराइरहेका छन् ।
पूजा व्यवस्थापन कार्यमा संस्थाका सचिब गणेश अधिकारी, सदस्य गान्धी भट्टराई लगायतले अहोरात्र योगदान दिइरहेको भन्दै अध्यक्ष आचार्यले धन्यवाद व्यक्त गरे ।
केन्द्रले दशैंको टीकाको दिन टीका तथा जमरा वितरणको कार्यक्रम पनि राखेको छ । संस्थाले उक्त स्थानमा प्यागोडा शैलीको हिन्दू मन्दिर, स्तुपा सहितको विशेष धार्मिक तथा सांस्कृतिक केन्द्र बनाउने उद्धेश्यले विशेष महाअभियान थालेको छ । जसमा मल्टीकल्चरल कम्युनिटी हल पनि बनाउने छ । उक्त भवनमा विवाह ब्रतबन्ध लगायतका धार्मिक कार्य गर्न सकिने अध्यक्ष आचार्यले जानकारी बताए ।
उनका अनुसार यथास्थितीमा अस्थायी रुपले सांस्कृतिक कामको शुरूवात गर्न लागिएको र सो कार्यको निम्ती काउन्सिलबाट अनुमति पनि आइसकेको छ ।