भिक्टोरियाको नेपाली समुदायलाई राज्य सरकारको ‘तिहार कोशेली’- तीन लाख डलरको अनूदानको घोषणा

मेलवर्न ।

अष्ट्रेलियाको मेलवर्न शहर नजिकै नेपालीहरुले बनाउन लागेको नेपाली सामुदायिक केन्द्रको निम्ती राज्य सरकारले करिब तीन करोड नेपाली रुपैया अर्थात ३ लाख ९ हजार डलर सहयोग गरेको छ । अष्ट्र्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरले पहलकदमी लिइ शुरू गरिएको नेपाली सांस्कृतिक तथा सामुदायिक स्थल निर्माणको अभियानमा पूर्वाधार अनूदानको रुपमा भिक्टोरिया राज्य सरकारले हालैमात्र उक्त रकम सहयोग गर्ने जानकारी दिएको हो । बहुसांस्कृतिक मन्त्री रोस स्पेन्सले केन्द्रलाई एक पत्र लेख्दै उक्त अनुदान स्वीकृत भएको जानकारी दिएकी थिइन् ।

यसलगत्तै शनिवार पत्रकार सम्मेलन गर्दै केन्द्रले राज्य सरकारबाट उक्त अनूदान प्राप्त भएको जानकारी दिएको हो । जसमा कर समावेश गरिएको छ, करबाहेक केन्द्रले २ लाख ८१ हजार ५ सय ८७ डलर प्राप्त गर्नेछ । केन्द्रका अध्यक्ष राजेश आचार्यले लामो समयदेखि यहाँ रहेका नेपालीहरुले बनाउन पहल गरिरहेको सामुदायिक केन्द्रको निम्ती राज्य सरकारले दिएको साथप्रति आभार व्यक्त गरे । अनुदानबारे जानकारी दिदै उनले ५०/५० को कार्यक्रम अन्र्तगत उक्त रकम प्राप्त हुने भएको बताए । उनका अनुसार केन्द्रले २ लाख ८१ हजार डलर योगदान गर्नुपर्ने र सोही मात्राको अनुदान सरकारबाट प्राप्त भएको हो ।

अनुदान घोषणा गर्दै मन्त्री स्पेन्सले भिक्टोरिया सरकारले यहाँ रहेको सांस्कृतिक सहिष्णुता विकास गर्न, संस्कृतिको प्रवद्र्धन र संर्वद्धन तथा परम्पराहरुलाई प्रोत्साहन गर्ने अभियानमा साथ दिन सो सहयोग गरिएको बताएकी छन् ।

अध्यक्ष आचार्यले अबको ६ महिनाभित्र उक्त प्रोजेक्टको काम गरि सरकारलाई जानकारी गराउनुपर्ने बताए । उनले यस अभियानमा साथ दिने सबैप्रति आभार समेत व्यक्त गरे ।

उक्त अनुदान प्राप्त गर्नको निम्ती गैर आवासीय नेपाली संघ, नेप्लिज एसोसियशन अफ भिक्टोरिया, यहाँ रहेको नेपाली महावाणिज्य दूतावास, लगायत विभिन्न संघसंस्थाहरुले साथ दिएको प्रति केन्द्रले आभार व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनको क्रममा केन्द्रका सचिव गणेश अधिकारीले केन्द्रले ताकेको अभियान अब सफलता तर्फ मोडिएको भन्दै खुशीयाली व्यक्त गरे ।

डिगर्स रेष्टमा १५ एकर जग्गा खरिद गरि बहुसांस्कृतिक केन्द्र बनाइने छ । जसमा प्यागोडा शैलीको हिन्दू मन्दिर, स्तुपा सहितको विशेष धार्मिक तथा सांस्कृतिक सामुदायिक हल बन्ने छ । भगवान गौतम बुद्धको मूर्तिसहितको ध्यानकेन्द्र, योगाभ्यास लगायतका सुविधा रहने सो भवननमा विवाह ब्रतबन्ध लगायतका धार्मिक कार्य गर्न सकिने अध्यक्ष आचार्यले जानकारी बताए ।

त्यसैगरी सयौ मानिस क्षमता रहने शौचालय पनि बनाउने परियोजना छ । केन्द्रले बर्षैदेखि उक्त परियोजनाको निम्ती काम गर्दै आएको सदस्य गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईले दुई निर्माण कम्पनीले हालसम्म निर्माणको निम्ती प्रस्ताव गरेको र अझै द्रुतगतिमा काम गर्न सक्ने कम्पनीहरुको खोजी भइरहेको जानकारी दिए । कम्पनीको निश्चित भइसकेपछि काम फटाफट शुरु हुने उनले बताए ।

उनले यही नोभेम्बर ५ गते ५ वटा मूर्ति पनि केन्द्रले प्राप्त गर्न लागेको जानकारी दिए । जसमा भगवान गौतम बुद्ध र दूर्गामाताको मूर्ति ५ फूटको रहनेछन् भने गणेश, नन्दी र पन्चमूखी शिवलिँगको मूर्ति पनि ल्याउन लागिएको छ ।

दशैैंको अवसरमा विधिवत पूजा गर्दै आएको यस केन्द्रले समुदायले मान्दै आएका पर्व विशेषमा उत्सवहरु गर्दै आएको छ । त्यस्तै छठपर्वको पनि तयारी शुरू भएको छ ।

मेलवर्न शहरदेखि केही किमीको दूरीमै बन्न लागेको यस सामुदायिक भवनले यहाँ नेपालीहरुले पहिचान बनाउन अझै मद्धत पुग्ने विश्वास लिइएको छ ।

अनलाइन जुममार्फत गरिएको पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारीसहित, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर