मेलबर्न । नेप्लीज एसोसियसन अफ भिक्टोरिया (न्याभ)ले बाल दिवस २०२२ को अवसरमा ८ विद्यालयका बालबालिकाहरुसँग कार्यक्रम गर्ने भएको छ । ३० अक्टोबरको दिन आइतवार न्यावद्वारा सञ्चालित र अन्य गरी ८ नेपाली भाषा विद्यालयका बालबालिकाहरुसँग खेलकूद, सांस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रम गर्न लागिएको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिए ।
नेप्लीज मार्टले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा न्याभद्वारा सञ्चालित बालचौतारी वेस्ट, बालचौतारी थमसटाउन, बालचौतारी विन्धम, बालचौतारी डोरिन मेरेन्डासहित क्रागिबर्न नेपाली भाषा विद्यालय, हाम्रो नेपाली पाठशाला, बालसंसार ग्लेनरोय र एसिँग वेलर्ट नेप्लीज कम्युनिटी बाल बाटिकाका बालबालिकाहरुले प्रस्तुती दिने भएका छन् ।
बालबालिकाहरुलाई सांस्कृतिक प्रस्तुती, हाजिरीजवाफ, बाल मन्तव्य, संगीत, चम्चा दौड, कुर्सी दौड, चित्रकला लगायतका प्रस्तुतीहरु गर्न लगाइने उप्रेतीले कनेक्ट नेपालीलाई बताए ।
कोबर्ग टाउनहल मा हुने प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्ने बालबालिकाहरुले अवार्डसहित सम्मान पनि पाउने छन् । त्यस्तै डेन्टल हपर्सले सबै प्रतियोगिहरुलाई उपहारले सम्मान गर्ने भएको अध्यक्ष उप्रेतीले बताए । न्याभको क्यालेन्डर इभेन्ट रहको बाल दिवस कार्यक्रम २००५ देखि नियमित रुपमा गरिदैं आएको न्याभका सचिव माधव खरेलले बताए । कोभिडको कारण अघिल्लो बर्ष हुन नपाएको यो कार्यक्रम दुई बर्ष पछि गर्न हुन लागेकोमा उल्लासमय रहने उनले बताए ।
कार्यक्रम सफल गर्नको निम्ती उपाध्यक्ष कृष्ण चालिसेले गतिविधि व्यवस्थापन तथा बालबालिका संयोजक निरन्जन रेग्मीले सबै विद्यालयहरुसँग सहकार्य गरेका छन् भने उपाध्यक्ष ललिशा थापा र दीप चन्दले लोजिस्टिक सम्बन्धी कामको जिम्मा लिएका छन् । कोषाध्यक्ष डा. एकेन्द्र तिमिल्सिना र सहसचिब अलोक पौडेलले सम्पूर्ण अतिथि सत्कारको जिम्मा लिएको सचिव खरेलले बताए ।
भिक्टोरियट सरकारले सहयोग गरेको सो कार्यक्रममा नेप्लिज मार्टले मुख्य प्रायोजन गरेको छ भने एनआरएनए भिक्टोरियासहित एस्कन होम्स, चान्डलर आरटीओ, एक्सपर्ट एजुकेशन माइग्रेसन, आईसीएस इन्टरनेशनल एजुकेशन माइग्रेसन, जेन माइग्रेसन एजुकेशन, लालिगुरास ग्रासरी, नारायण पुरोहित सेवा, सल्भ एजुकेशन, ग्लेन इन्सिटट्युट, यात्रा द कनेक्सन, ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, म्याक्सीम्याक्स माइग्रेसन, एभरेष्ट डाइनिँग सेन्टर, सेन्ट्रल अष्ट्रेलियन कलेज, सरोज भट्टराई, डेन्टल हपर्स, एडब्लुटआई, बेटर चोइस लगायतले सहयोग गरेका छन् । यस्तै हङ्ग्री रेष्टुरेन्ट हस्पिटालीटी पार्टनर रहेको छ ।
१९९७ मा स्थापना भएको न्याभ यहाँ रहेको नेपाली समुदायको सबैभन्दा पूरानो मध्येको एक संस्था हो । जसले यहाँ रहेका नेपालीहरुमा आपसी सदभाव कायम गर्न विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ ।
विहान १० बजेबाट शुरू हुने कार्यक्रम करिब ३ बजेसम्म चल्नेछ ।
न्याभद्वारा यस अघि गरिएका बालदिवस कार्यक्रमका केही झलकहरुः तस्वीर सौजन्यः न्याभ