मेलवर्नमा न्याभले यसरी मनायो बाल दिवस २०२२

मेलबर्न । नेप्लीज एसोसियसन अफ भिक्टोरिया (न्याभ)ले ८ नेपाली भाषा विद्यालयका बालबालिकाहरुसँग विशेषसमारोहका साथ बाल दिवस २०२२ मनाएको छ । आइतवार न्याभद्वारा सञ्चालित र अन्य गरी ८ नेपाली भाषा विद्यालयका बालबालिकाहरुसँग खेलकूद, सांस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमका साथमा बाल दिवस समारोह सम्पन्न गरिएको हो ।

उपस्थित बालबालिका र उनीहरुका अभिभावकको प्रभातफेरीसँगै शुरू भएको कार्यक्रममा नेपाल र अष्ट्रेलिया दुवै राष्ट्रिय गानले कोबर्ग हल गुञ्जिएको थियो ।

पानसमा वत्ती बालेर सरुवात गरिएको कार्यक्रममा भिक्टोरिया मल्टीकल्चरल कमिशनका अध्यक्ष भिभेन न्युगेन, लेवर पार्टीको तर्फबाट पास्को भेलका उम्मेद्वार एन्थोनी सिएनफ्लोन, न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी तथा पूर्व अध्यक्ष डा. अनुपम पोखरेलको विशेष आतिथ्यता रहेको थियो ।

नेप्लीज मार्टले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा न्याभद्वारा सञ्चालित बालचौतारी वेस्ट, बालचौतारी थमसटाउन, बालचौतारी विन्धम, बालचौतारी डोरिन मेरेन्डासहित क्रागिबर्न नेपाली भाषा विद्यालय, हाम्रो नेपाली पाठशाला, बालसंसार ग्लेनरोय र एसिँग वेलर्ट नेप्लीज कम्युनिटी बाल बाटिकाका बालबालिकाहरुले संगीत, नृत्य, गायन, मन्तव्य, हाजिरीजवाफ, सांस्कृतिक लगायतका विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका थिए ।

हाजिरीजवाफमा नेपाली कला संस्कृति तथा इतिहासको विषयमा प्रश्नहरु सोधिएका थिए । जसमा न्याभ बालचौतारी थमसटाउनको टीम ए प्रथम भएको छ भने क्र्यागिवर्न नेपाली एथनिक स्कूल द्वितीय, डिएमएनसी बालविकाश पाठशाला तृतिय भएको छ । त्यसैगरी कुर्सी दौडमा पियुस चालिसे प्रथम भएका छन् ।

प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गरेका बालबालिकाहरुले अवार्डसहित सम्मान पाएका थिए भने त्यस्तै डेन्टल हपर्सले सबै प्रतियोगिहरुलाई उपहारले सम्मान गरेको थियो ।

विभिन्न खानाका परिकारहरु राखिएको थियो भने चित्रकला लगायतका प्रस्तुती भएको सचिव माधव खरेलले जानकारी दिए । बालबालिकाहरुले पिनाटा प्रतियोगितामा पनि उत्साहजनक सहभागिता जनाए ।

सो अवसरमा बोल्दै अतिथिहरुले न्याभले गरेको कामको प्रशंसा गर्दै आफूहरुको तर्फबाट नेपाली कला र संकस्कृतिको संरक्षणमा न्याभले गर्ने कामहरुमा साथ हुने वचन दिएका थिए ।

न्याभ अध्यक्ष उप्रेतीले न्याभले यहाँ हुर्कदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृतिहरुसँग परिचित गराउनको निम्ती आफ्नो क्यालेन्डरमै बालदिवस कार्यक्रम राख्ने गरेको र आगामी दिनमा पनि त्यो जारी रहने बताउँछन् ।

उपाध्यक्ष ललिशा थापाले आगामी दिनमा यहाँ रहेका सबै नेपाली तथा अष्ट्रेलियन संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै कार्यक्रममा सहयोग गर्ने, उपस्थिती जनाउने सबैलाई आभार व्यक्त गरिन् ।

कार्यक्रम संयोजक कृष्ण चालिसेले यस कार्यक्रमले बालबालिकामा सहकार्य र एकताको भावना विकास गर्ने मात्र नभएर नेपाली भाषा, कला र इतिहासबारे ज्ञान सिक्ने मौका पनि मिलेको बताए ।

न्याभका उपाध्यक्ष ललिशा थापा र कार्यकारी सदस्य लक्ष्मण सन्ज्यालले कार्यक्रम सञ्चालकको रुपमा जुझारु उद्घोषक द्धोय श्रीविन आचार्य र निर्जला गौलीलाई मन्चमा आमन्त्रण गरेका थिए । उद्घोषकहरुले कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउन भूमिका निर्वाह गरे । उदघोषक द्धोय यसअघि सम्पन्न भएको न्याभ फादर स्पिचमा उत्कृष्ट समेत भएका थिए । त्यस्तै सहसचिव अलोक पौडेलले कार्यक्रम सहजीकरण गरे ।

बाल दिवस कार्यक्रम २००५ देखि नियमित रुपमा गरिदैं आएको न्याभका सचिव माधव खरेलले बताए । कोभिडको कारण अघिल्लो बर्ष हुन नपाएको यो कार्यक्रम दुई बर्ष पछि भएकोमा विशेष उत्साहपूर्ण बनेको उनले बताए ।

कार्यक्रम सफल गर्नको निम्ती उपाध्यक्ष कृष्ण चालिसेले गतिविधि व्यवस्थापन तथा बालबालिका संयोजक निरन्जन रेग्मीले सबै विद्यालयहरुसँग सहकार्य गरे भने उपाध्यक्ष ललिशा थापा, दीप चन्द, उज्जवल अधिकारी, कृष्ण चालिसे र कोषाध्यक्ष एकेन्द्र तिमिल्सिनालेलोजिस्टिक सम्बन्धी कामको जिम्मा लिएका थिए ।

भिक्टोरिया सरकारले सहयोग गरेको सो कार्यक्रममा नेप्लिज मार्टले मुख्य प्रायोजन गरेको थियो भने एनआरएनए भिक्टोरियासहित एस्कन होम्स, चान्डलर आरटीओ, एक्सपर्ट एजुकेशन माइग्रेसन, आईसीएस इन्टरनेशनल एजुकेशन माइग्रेसन, जेन माइग्रेसन एजुकेशन, लालिगुरास ग्रासरी, नारायण पुरोहित सेवा, सल्भ एजुकेशन, ग्लेन इन्सिटट्युट, यात्रा द कनेक्सन, ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, म्याक्सीम्याक्स माइग्रेसन, एभरेष्ट डाइनिँग सेन्टर, सेन्ट्रल अष्ट्रेलियन कलेज, सरोज भट्टराई, डेन्टल हपर्स, एडब्लुटआई, बेटर चोइस लगायतले सहयोग गरेका थिए। यस्तै हङ्ग्री रेष्टुरेन्ट हस्पिटालीटी पार्टनर रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर