शेपार्टनका बाढी प्रभावितहरुलाई सहयोग गर्न अष्ट्रेलियाको नेपाली समुदाय एकजुट

मेलवर्न । ग्रेटर शेपार्टन क्षेत्रमा अक्टोबर १५ मा भएको अप्रत्याशित बाढीको कारण प्रभावित व्यक्ति तथा परिवारहरुलाई नेपाली समुदायले आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गरेको छ ।

समाजसेवी मीना मल्लको नेतृत्वमा फेसबुक ग्रुपमार्फत अष्ट्रेलिया तथा विशेषगरी भिक्टोरिया क्षेत्रमा रहेका नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा बाढीप्रभावितहरुको निम्ती सहयोग संकलन गरी वितरण गरिएको हो ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ), एनआरएनए अष्ट्रेलिया, क्र्यागिवर्न नेप्लिज एथ्निक स्कूल, दिदीबहिनी समाज भिक्टोरिया, फार वेस्टर्न नेपाली सोसाइटी अफ भिक्टोरिया, जनसम्पर्क समिति अष्ट्रेलिया लगायतले उक्त सहयोग संकलन अभियानमा साथ दिएका थिए ।

सहयोग संकलन अभियानले दुई चरणमा गरी ४५ सय डलर आर्थिक तथा ३५ झोला ड्राई फुड लगायतका सहयोग सामग्रीहरु शेपार्टन फुडशेयरलाई प्रदान गरिएको थियो । शेपार्टन काउन्सिलको सहयोगमा स्थापित शेपार्टन फुडशेयर मार्फत बाढी प्रभावितहरुको निम्ती उक्त सहयोग प्रदान गरिएको सहयोग अभियन्ता मीना मल्लले कनेक्ट नेपालीलाई जानकारी दिइन् ।

‘शेपार्टन क्षेत्रमा अभूतपूर्व बाढी सुरु भएदेखि उक्त समुदायले हाम्रो शारीरिक, नैतिक, र आर्थिक सहयोगको तीव्र रूपमा खोजिरहेको छ’, उनले भनिन्, ‘यही अवस्थामा हाम्रो नेपाली समुदाय ती बाढी प्रभावितहरूलाई मद्दत गर्न परिचालन गर्न सक्षम भएको छ, जसले हाम्रो समुदाय धन्यवादको पात्र बनेको छ ।’

आर्थिक, भौतिक, नैतिक सहयोग मात्र नभएर नेपाली समुदायले भाषा अनुवाद गरेर पनि विपत्तीमा साथ दिएको छ । १५ अक्टोबरमा बाढी आएसँगै नेपाली समुदायले १५ सय डलर पेपल मार्फत प्रदान नगरिएको थियो भने बाँकी २९६६ डलर शुक्रवार हस्तान्तरण गरिएको थियो । ४५ टूलम्बा रोड, मुरीप्नामा भएको सहयोग कार्यक्रममा पनि नेपालीहरुले उल्लेखनिय रुपमा स्वयंसेवा गरेका थिए । जसमा न्याभका पूर्वअध्यक्ष राम गुरुङ, समाजसेवी मीना मल्लले निशुल्क खाना वितरण गरे भने गुरुङले व्यक्तिगत रुपमा ६० केजी चामल र स्वयंसेवकहरुलाई करिब ७ सय डलर बराबरको खाना समेत वितरण गरेका थिए ।

दिदीबहिनी समाज भिक्टोरियाले पनि ३५ केजी खाना तथा किराना सामग्रीहरु प्रदान गरेको मल्लले जानकारी दिइन् । सामाजिक सञ्जाल फेसबुकको ग्रुपबाट सहयोग अभियान शुरू भएको थियो भने रकम संकलन गर्न देउसी भैलो पनि खेलिएको थियो ।

यसैवीच नेपाली समुदायले देखाएको हार्दिकता प्रति ग्रेटर शेपार्टन सिटी काउन्सिलले आभार व्यक्त गरेको छ । इथ्निक काउन्सिल अफ शेपार्टनको तर्फबाट क्रिश हेजलम्यानले विपत्तीको समयमा नेपाली समुदायले एकजुट भएर गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

त्यस्तै सिटी काउन्सिलका मेयर शेन साली, त्यस्तै उपमेयर एन्थोनी ब्रोफी, सीमा अब्दुल्ला, जेफ डोब्सनले पनि मल्लसहित नेपाली समुदायले गरेको सहयोगात्मक कार्यप्रति आभार प्रकट गरेका छन् । न्याभका पूर्व अध्यक्ष गुरुङले यसरी नेपाली समुदाय एकजुट भएर बाढीको विपत्तीमा गरिएको सहयोगले भिक्टोरियाको समाजमा नेपाली समुदायको एकताको सन्देश समेत प्रकट भएको बताए ।

हेरौं केही तस्वीरहरु (सौजन्यः मीना मल्ल)

  

प्रतिक्रिया

सम्बन्धित खवर