काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतको व्यवहारका कारण दार्चुलामा नेपालीले ज्यान जाँदा पनि सरकार निरिह भनेको आलोचना गर्नुभएको छ ।
लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पटकपटक भारतको व्यबहारबाट नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकारको निरीहता कहिलेसम्म भन्ने प्रश्न गर्नुभयो ।
महाकाली नदीको वहाव नेपालतर्फ आउने गरी पक्की संरचना बनाएको विरोध जनाउने क्रममा भारततर्फबाट आएको ढुंगाले लागेर ४ जना नेपाली बालबालिका घाइते भएका थिए ।
विगतमा तुइन काटिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएको र सडक बनाउँदा विस्फोटबाट आएको ढुंगाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएको उदाहरण दिँदै सभापति लामिछानेले यस्तो अवस्थामा पनि नेपालको सरकार कहिँ कतै नदेखिएको बताउनुभयो ।
उहाँले लेख्नुभएको छ,‘वर्षौंको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’।
यस्तै उहाँले ‘ आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नुपर्छ ।दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन’ उहाँले लेख्नुभएको छ ।