काठमाडौं । राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल सोमबार(आज) हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बिहान ९ बजेबाट सुरु हुनेछ । समूह चरणको खेलमा अपराजित रहँदै साबिकको उपविजेता सुदूरपश्चिम फाइनल पुगेको हो । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलमा पुगेको हो ।
लुम्बिनी र सुदूरपश्चिमबीचको गत वर्षको फाइनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूरपश्चिमसँग १ सय रनले पराजित भएको थियो । सुदूरपश्चिम गत संस्करणको फाइनलको हारको बदला लिन चाहन्छ । लुम्बिनी यस वर्ष पनि उपाधि जित्न चाहन्छ ।
प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।