सिड्नी । साउथ अष्ट्रेलियामा जनवरी एकको दिन मनाइने नेपाली पोशाक दिवस भव्य रुपमा मनाइएको छ । नेपाली पोशाक तथा ढाका टोपीको प्रोत्साहन तथा प्रवर्धन गर्ने ध्येयका साथ प्रवासी नेपाली मञ्च (ओएनएफ)को आयोजनामा पदयात्रा तथा पर्यटन प्रवर्द्धन गर्दै दिवस मनाइएको हो ।
नेपाली झन्डा र परम्परागत पोसाकसहित शिरमा ढाका टोपी लगाएर दर्जनौं नेपालीले एकाबिहानै पदयात्रामा सहभागी हुँदै खुशीयाली साटेका थिए ।
समुद्री तटमा ५ किमी पदयात्रा गर्दै पर्यटकहरु बढी आउने समर्टन पार्कमा नेपाली पोशाकहरुसहितको विशेष कार्यक्रम गरिएको ओएनएफ अष्ट्रेलियाका सहसचिव तथा ओएनएफ साउथ अष्ट्रेलियाका पूर्व अध्यक्ष हेम खनालले बताए ।
करिब १५० जना सहभागि भएको भन्दै उनले सबैलाई टोपी प्रदान गरिएको समेत बताए । उक्त कार्यक्रममा नेपालबाट घुम्न आएका अभिभावकहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो भने सबैलाई ब्रेकफास्ट पनि प्रदान गरिएको थियो ।
ओएनएफले विगत ५ वर्ष अघिदेखि नेपाली पोशाक प्रवर्द्धन गर्नेगरी यस प्रकारको कार्यक्रम गर्दै आएको छ । यसरी नेपाली टोपी दिवस मनाउनुको मुख्य उद्धेश्य नेपाली पोशाक तथा ढाकाटोपीलाई अष्ट्रेलियामा चिनाउने उद्धेश्यसहित कार्यक्रम गर्दै आइरहेको ओएनएफ साउथ अष्ट्रेलियाका युवराज पहाडीले बताए ।
उक्त अवसरमा मारियन काउन्सिलको तर्फबाट काउन्सिलर बन्न सफल नेपाली मूलकी रेणुका लामालाई सम्मान गरिएको थियो भने कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत दीपक धमलासहित सहित, ओएनएफ इन्टरनेशनलका सदस्यहरु सीता केसी थापा, ओएनएफ ओसियाना अध्यक्ष राजु थपलिया, ओएनएफ अष्ट्रेलियाका उपाध्यक्ष बालगोपाल उपाध्याय, ओएनएफ अष्ट्रेलिया सहसचिव हेम खनाल, एनआरएनए साउथ अष्ट्रेलिया अध्यक्ष तथा मेरियन काउन्सिल सदस्य रेणुका लामा, एनआरएनए ओसनियाबाट अशोक केसी, ओएनएफ साउथ अध्यक्ष युवराज पहाडी तथा कार्यक्रम संयोजक समेत रहेका ओएनएफ साउथ अष्ट्रेलिया सचिब सन्तोष गौतमले विशेष उपस्थिती जनाएका थिए ।