काठमाडौं । नयाँ सरकारले पनि सचिव सरुवालाई निरन्तरता दिएको छ । नयाँ सरकार र मन्त्री आए लगत्तै सुरु हुने सचिव सरुवाको परम्परालाई निरन्तरता दिँदै नयाँ सरकारले ७ जना सचिवको सरुवा गरेको हो ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको सरुवा गरेको हो ।
अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, राजस्व सचिव रामेश्वर दङ्गाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा, कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, वाणिज्य मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवमा, अख्तियारका सचिव डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिवमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको हो ।