काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दललाई एक हप्ताभित्र पूर्णता दिन निर्देशन दिनुभएको छ ।
सभापति देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग छलफल गरेर चाँडो कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिनुभएको हो ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मिति तोकेसँगै कांग्रेसले विद्यार्थी संस्था नेविसंघ र तरुण दललाई पूर्णता दिन चासो बढाएको हो ।
कांग्रेसले विसं २०७८ चैतमा नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलको अध्यक्षमा गुरुङलाई जिम्मेवारी दिएपनि त्यसपछि अहिलेसम्म कार्यसमिति विस्तार हुन सकेको छैन।कांग्रेसले केही भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोकेको भएपनि अधिकाशं भ्रातृ संस्था नेतृत्वविहीन छन्।
कांग्रेसले अध्यक्षको जिम्मेवारी दिएका भ्रातृ संस्थाको निर्वाचन छ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएपनि कुनै पनि भ्रातृ संस्थाले समयमा महाधिवेशन गर्न सकेका छैनन्।

