काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल सरकारमा नजाने बताउनुभएको छ। रौतहट–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताउनुभएको हो ।
उहाँले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको स्पष्टोक्ति दिनुभयो ।
अध्यक्ष नेपालले संसद विघटन गरिन्छ कि भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आँट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको बताउनुभयो । उहाँले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझावसमेत दिनुभयो ।