नवनियुक्त मन्त्रीहरूले लिए शपथ, को–को बने नयाँ मन्त्री ?

काठमाडौं। नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको शपथ लिएका छन्।

राप्रपाबाटै ध्रुवबहादुर प्रधान कानूनमन्त्री भए, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्।

नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्।

नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री भएका छन्।

यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री बनाएका थिए। साथै एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ। रास्वपा र राप्रपाले तीन तीन वटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ। त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ। रास्वपा र राप्रपाले एक एक राज्यमन्त्री पनि पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय