काठमाडौं । पोखरामा आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको यति एअरलाइन्सले जनाएको छ । अझै एक जनाको अवस्था थाहा नभएको र खोजी भइरहेको एअरलाइन्सले जानकारी दिएको छ ।
यसैबीच विमान दुर्घटनामा निधन भएकामध्ये काठमाण्डौ ल्याइएका ४८ वटा शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउने यति एअरलाइन्सले जनाएको छ ।
यस्तै २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएको छ ।
गएको आइतवार ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना सवार यति एअरलाइन्सको विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

