काठमाडौं। प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। प्रतिनिधि सभाका सभामुख चयनको लागि आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ। मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।
सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ। प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ।
उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो। सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ। गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउनेछन्। एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ।

